लाइसेन्सको फाराम दर्ता बन्द


काठमाडौं : यातायात व्यवस्था विभागमा नयाँ हाकिम नियुक्त भएसँगै लाइसेन्स वितरणका लागि फाराम दर्ताप्रक्रिया रोक्का भएको छ। परीक्षा समितिको बैठक बस्न नसकेको भन्दै दर्ता प्रक्रिया रोकिएको हो।

विभागमा हाकिम परिवर्तन हुनेबित्तिकै परीक्षा समितिको बैठक बस्ने चलन छ। समितिमा सम्बन्धित यातायात व्यवस्था कार्यालयका प्रमुख, ट्राफिक प्रहरीका अधिकृत स्तरका प्रतिनिधि र कार्यालयकै एकजना प्राविधिक रहन्छन्।


परीक्षा समितिको बैठक बस्न नसकेपछि बागमतीसँगै देशभरका अधिकांश यातायात कार्यालयमा माघ ६ देखि फागुन ३ गतेसम्मका लागि लाइसेन्स वितरणको फाराम दर्ता रोकिएको हो।

बागमती अञ्चलबाहेकका कार्यालयबाट लाइसेन्स वितरण बन्द छ। बागमतीमा पनि फाराम दर्ता प्रक्रिया बन्द भएपछि सेवाग्राही मारमा परेका छन्। यसबारे थाहा नहुँदा एकान्तकुनास्थित कार्यालय पुग्ने सेवाग्रही त्यत्तिकै फर्कने गरेका छन्।

बागमती कार्यालयका प्रमुख लक्ष्मणविक्रम थापाका अनुसार एक साताअगाडिसम्म प्रत्येक दिन दुईपांग्रे सवारीको लाइसेन्स फाराम तीन सय ५० देखि चार सयवटा र चारपांग्रेको लाइसेन्स फाराम एक सयदेखि एक सय ५० वटासम्म दर्ता भएका थिए।

 'उपत्यकाबाहिर बन्दै छ। बागमतीबाट मात्रै वितरण गर्ने हो। त्यो पनि दर्ता बन्द भएको छ', थापाले बुधबार अन्नपूर्णसँग भने, 'यो काम गर्दा पनि नहुने, नगर्दा पनि नहुने अचम्मको ठाउँ रहेछ।'

विभाग प्रमुखमा मधुसूदन बुर्लाकोटीलाई नियुक्त गरिएपछि लाइसेन्स फाराम दर्ता रोकिएको हो। परीक्षा प्रणाली सुधारका लागि भन्दै बुर्लाकोटीकै निर्देशनमा फाराम दर्ता रोकिएको बागमती कार्यालयका एक अधिकृतले बताए। ती अधिकृतले भने, 'हामीलाई रोक भनेपछि माथिको निर्देशन मान्नैप:यो। परीक्षा समितिको बैठकपछि मात्रै दर्ता सुरु हुन्छ।'

विभागका प्रमुख बुर्लाकोटीले फागुन ३ गतेसम्मको 'सेड्युल प्याक' भएकाले दर्ता प्रक्रिया रोकिएको दाबी गरे। लाइसेन्स वितरण बन्द भएका जनकपुर, नेपालगन्ज, पोखरा कार्यालयमा पनि चाँडै खुला गरिने उनले बताए।

'यातायात व्यवस्था नियमावली परिवर्तन भएको छ। प्रयोगात्मक परीक्षा प्रणालीमा सुधार गर्नु छ। हामीले अनुगमन पनि गरिरहेका छौं।

चाँडै सुदृढ परीक्षा प्रणालीअनुसार दर्ता प्रक्रिया सुरु गर्छौं', बुर्लाकोटीले भने। परीक्षा प्रणाली सुधारका लागि अब ट्रायल सेन्टरमा सीसीटीभी क्यामेरा राखेर अनुगमन गरिने उनले बताए। 





प्रतिक्रिया दिनुहोस्...