साढे ३ अर्बको रिसोर्ट बन्दै


काठमाडौं-मुलुकको पर्यटन उद्योगले गति लिइरहेका बेला ठूलो परिमाणको विदेशी लगानीमा रुपेन्देहीको मणिग्राममा पाँचतारे स्तरको एक रिसोर्ट निर्माण सुरु भएको छ। हङकङस्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण सुरु भएको रिसोर्टको नाम ‘टाइगर प्यालेस' राखिएको छ। रिसोर्टमा निर्माण हुने २ सय कोठा सबै ‘डिलक्स' हुनेछन्। ‘पर्यटन उद्योगले पछिल्लो पटक ठूलो फड्को मारेको छ र मुलुकको अर्थतन्त्रमा यसको योगदान थप उच्च बनाउनुपर्छ भन्ने उद्देश्यले रिसोर्ट निर्माण सुरु गरेका हौं,' उक्त ग्रुपको नेपालस्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले शनिबार नागरिकसँग भने। उनका अनुसार रिसोर्ट भैरहवा र बुटवलको बीचमा पर्ने मणिग्राममा निर्माण भइरहेको छ। रिसोर्टका लागि १६ बिघा क्षेत्रफल छुट्ट्याइएको छ भने रिसोर्ट भवनले मात्र दुई बिघा क्षेत्रफल ओगट्छ। पहिलो चरणमा १ सय कोठा तयार गरिनेछन्। ‘चालु सन् २०१५ डिसेम्बरभित्र रिसोर्ट निर्माण पूरा गर्ने गरी काम भइरहेको छ,' बजगाईंले भने, ‘२०१६ को सुरुबाट पूर्णरूपमा सञ्चालनमा आउँछ। पाँचतारे होटलमा हुने सबै सुविधा हाम्रो रिसोर्टमा उपलब्ध हुनेछन्।' रिसोर्टको डिजाइनअनुसार १४ वटा कोठा र पौडी पोखरी (स्विमिङ पुल) एकआपसमा जोडिएका छन्। पाहुनाले कोठाबाट सिधै स्विमिङ पुलमा ‘डाइभ' हान्न सक्छन्। यस्तो खालको विशेषता भएको रिसोर्ट वा होटल नेपालमा हालसम्म कतै पनि नरहेको बजगाईंले दाबी गरे। रिसोर्टले बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक लक्ष्य गरेको छ। प्रतिरात प्रतिकोठा २ सय अमेरिकी डलरमा बिक्री गर्ने योजना रिसोर्ट व्यवस्थापनको छ। यो मूल्य १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक हो। रिसोर्ट निर्माण पूरा भएपछि कोठाको मूल्य अझ यकिन हुने उनको भनाइ छ। उनका अनुसार रिसोर्टमा एउटा क्यासिनो पनि सञ्चालन हुने छ। क्यासिनोमा एकैपटक ७ सयजनाले खेल्न सक्छन्। रिसोर्ट र क्यासिनो दुवैमा गरी १ हजार २ सयजनाले रोजगारी पाउनेछन्। दुवैको व्यवस्थापनले विदेशीले हेर्नेछन्। रिसोर्टले गर्ने कुल आम्दानीको दुई प्रतिशत हिस्सा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाघ संरक्षणका लागि खर्च गरिने बजगाईंले जानकारी दिए। ‘हाम्रो रिसोर्टले वार्षिक जति कमाउँछ त्यसको दुई प्रतिशत हिस्सा संरक्षण सूचीमा रहेको जंगली जनावर बाघको संरक्षणमा खर्च गर्छौं,' बजगाईंले भने, ‘त्यही भएर रिसोर्टको नाम टाइगर प्यालेस राखेका हौं।' रिसोर्टसँगै रहेको सामुदायिक वनसँग सहकार्य गरी केही सामाजिक काम गर्ने योजना पनि रिसोर्टले बनाएको छ। रिसोर्टमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फन पार्कलगायत विभिन्न आकर्षण रहनेछन्। बजगाईंका अनुसार रिसोर्ट सिल्भर हेरिटेज चेनअन्तर्गत सञ्चालन हुनेछ। यो चेनले हाल लाओस, फिलिपिन्स, भियतनाम, कम्बोडिया, गुआम आइल्यान्डलगायत देशमा ३३ वटा रिसोर्ट सञ्चालन गरिरहेको छ। रिसोर्ट निर्माणको काम अहिले अमेरिकाको हार्वर्ड बिजनेस स्कुलका स्कलर ह्यु होल्म्सले हेरिरहेको उनले बताए। ‘यस किसिमको रिसोर्ट सञ्चालनमा आएपछि नेपालको पर्यटन उद्योगमा नयाँ विशेषता थपिने छ भने अन्तर्राष्ट्रिय पर्यटन बजारमा पनि छुट्टै सकारात्मक सन्देश जाने छ,' उनले भने, ‘विदेशी कम्पनीको वृहत लगानीमा निर्माण हुने र उनीहरूकै व्यवस्थापनमा सञ्चालन हुने भएका कारण नेपालमा थप विदेशी लगानी आकर्षित गर्न यसबाट पनि उल्लेख्य मद्दत पुग्ने विश्वास छ।' सिल्भर हेरिटेज ग्रुपले यो रिसोर्टसहित राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा क्यासिनो सांग्रिला सञ्चालन गर्ने तयारी पनि गरिरहेको छ। यसका लागि ग्रुपले होटलसँग भाडा सम्झौता यसअघि नै गरिसकेको छ। क्यासिनो नियमावली २०७० अनुसार आवश्यक २५ करोड रुपैयाँ बैंक ग्यारेन्टीसहित सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको यो क्यासिनोले पर्यटन मन्त्रालयबाट सञ्चालन अनुमति भने पाउन बाँकी छ। बजगाईंका अनुसार क्यासिनो सांग्रिलामा लगानी गरेको ग्रुपको सञ्चालक समितिले नेपालमा पहिलो चरणमा १० अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ। यसमा क्यासिनो सांग्रिला, भैरहवामा टाइगर प्यालेस रिसोर्ट, विभिन्न ठाउँमा पाँचतारे होटल, जलविद्युत आयोजनासम्म छन्। लगानी वृद्धि गर्दै ३० अर्बसम्म पुर्यायउने ग्रुपको लक्ष्य छ। सिल्भर हेरिटेज ग्रुप अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत हुने तयारीमा रहेको छ।




प्रतिक्रिया दिनुहोस्...