सडकमा आगो बल्यो, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त


स्वतन्त्र मधेस गठबन्धनद्वारा आइतबार दिउँसो लहानमा मनाउने भनिएको आठौँ बलिदानी दिवसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

गठबन्धनको आह्वानमा लहानस्थित पशुपति आदर्श उच्च माविको प्राङ्गणमा सिके राउतले सम्बोधन गर्ने भनिएको कार्यक्रम आज दिउँसो प्रहरीले बिथोलेपछि तनाव भएको हो ।

प्रहरीले राउत नआउँदै विद्यालयको प्राङ्गणबाट सबैलाई बाहिर निकालेपछि प्रदर्शनकारीले ढुङ्गा हानेका थिए । प्रहरीले विद्यालयको उत्तर र दक्षिण ढोकाबाट सबैलाई निकाल्न थालेपछि प्रहरीमाथि ढुङ्गा प्रहार हुँदा प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले ज्यादती गरेको भन्दै गठबन्धन सम्बद्ध युवाले विद्यालय अगाडि बजार प्रवेश गर्ने मुख्य सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । पशुपति आदर्श उच्च मावि अगाडिका पसल अहिले बन्द गरिएका छन् ।

विद्यालयको चौरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कब्जा गरेका छन् भने गठबन्धनका समर्थकहरु विद्यालय अगाडि बजार प्रवेश गर्ने मुख्य सडक अवरोध गरेर नाराबाजी गरिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्...