बामदेवले टिकट किने, प्रचण्ड र नेपालले फिल्म हेरे
बामदेवले टिकट किने, प्रचण्ड र नेपालले फिल्म हेरे २० पुस, काठमाडौं । पछिल्लो समयमा एमाले र एमाओवादीको सम्बन्धमा दरार आइरहेका बेला एमाले नेता माधवकुमार नेपालले प्रचण्डसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका छन् ।
विशेष गरी अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच आरोप प्रत्यारोप चल्दा दलहरुबीच सहमतिमै समस्या आएपछि नेपाल सम्बन्ध सुधारमा अग्रसर भएका हुन् । CIVIL MALLसम्बन्ध सुधारकै सिलसिलामा एमाले उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतमले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र प्रचण्डलाई हलमै लगेर हिन्दी फिल्म हेराएका छन् ।
सुन्धारास्थित सिभिल मलमा गौतम, नेपाल र प्रचण्डले अमिर खान अभिनित ‘पीके’ हेरेका हुन् । तीनै नेताहरुले पैसा तिरेर टिकट काटेरै फिल्म हेरेका थिए । तीनै जनाको टिकटको पैसा गृहमन्त्री गौतमले तिरेको स्रोतले जनाएको छ । बिहीवार बिहान नेपाल र प्रचण्डले प्रचण्ड निवासमा संगै नास्ता खाएर फिल्म हल गएका थिए । नेपाल, प्रचण्ड र गौतम बेला बेलामा फिल्म हेर्ने नेताको रुपमा चिनिन्छन् ।
तीन नेताले यसरी संगै गएर फिल्म हेरेको भने यो पहिलोपटक हो । एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराइले एक हप्ता अगाडी नै पीके हेरेर टिप्पणी समेत गरिसकेका छन् । फिल्म हलबाट छुटेपछि नेपाल र प्रचण्ड नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यको स्वास्थ्यस्थित बुझ्न नर्भिक अस्पताल पुगेका थिए ।