किसानलाई ५ प्रतिशत ब्याजमा ऋण दिने वाणिज्यको घोषणा


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले किसानलाई ५ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले किसानलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने जानकारी दिएका हुन् ।

‘बैंकले ९ प्रतिशतमा कृषि कर्जा प्रवाह गर्दै आएको थियो, सरकारले ४ प्रतिशत ब्याज अनुदान दिने भनेको छ’ शर्माले भने -सरकारको ४ प्रतिशत ब्याज अनुदान लिएर बैंकले अबदेखि ५ प्रतिशत ब्याजदरमै ऋण दिने व्यवस्था मिलाएका छौं ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले युवा किसानलाई ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने नीति लिएको थियो । झन्डै दुई महिनाअघि राष्ट्र बैंकले कृषि कर्जा र ब्याज अनुदानसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइसकेको छ । तर, राष्ट्रिय वाणिज्य बैंकले सरकारी दरभन्दा १ प्रतिशत सस्तो मै कृषि कर्जा दिने घोषणा गरेको हो । बैंकले स्वर्ण जयन्तीको अवसरमा विभिन्न नयाँ कार्यक्रमसमेत ल्याएको छ । बैंकले सर्वसाधारणलाई ३० प्रतिशत सेयर वितरण गने जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार सर्वसाधारणलाई सेयर जारी गर्न सरकारसँग अनुरोध गरेको सीइओ शर्माले बताए । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँलाई ७० प्रतिशत मानेर ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । पत्रकारलाई ५० हजारको पुरस्कार बैंकले प्रत्येक बर्ष वित्तीय क्षेत्रका समाचार लेख्ने पत्रकारहरुलाई ५० हजार राशीको पुरस्कार पनि दिने भएको छ । ‘आर्थिक विषयवस्तुमा समाचार लेख्ने पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कारको स्थापना गरिएको बैंकका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए । त्यसैगरी बैंकले विभिन्न किसिमका योजनाहरु सार्वजानिक गरेको छ । यो राष्ट्रिय वाणिज्य बैंकको स्थापना ०२२ साल माघ १० गते भएको थियो । हाल बैंकले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ नाफा कमाएको थियो । बैंकले १ सय ५८ शाखा, २८ शाखारहित बैंकिङ र ८० वटा एटीएममार्फत २० लाखभन्दा बढीलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । - See more at: http://npnewsline.blogspot.co.il/2015/01/blog-post_25.html#sthash.3n5avdeD.dpuf




प्रतिक्रिया दिनुहोस्...