मोदी आफैंले गरे विमानस्थलमा स्वागत, ओबामाका लागि यस्तो छ विशेष व्यवस्था


काठमाडौं, माघ ११ । भारतको गणतन्त्र दिवसको प्रमुख आतिथ्यता ग्रहण गर्न अमेरिकी राष्ट्रपति बराक ओबामा आइतबार बिहान नयाँ दिल्ली आइपुगेका छन् ।

विशेष विमानमार्फत् ओबामा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लंदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले उनको स्वागत गरेका थिए । जनवरी २६ अर्थात् सोमबार हुने गणतन्त्र दिवसको समारोहको प्रमुखआतिथ्यता ग्रहण गर्न ओबामा मोदीकै आमन्त्रणमा भारत आएका हुन् ।

ओबामाको भ्रमणलाई ध्यानमा राखी भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ । इतिहासमै सबैभन्दा उच्च सुरक्षा व्यवस्था गर्न हजारौं सुरक्षा बल तैनाथ गरिएको छ भने १५ हजार सीसीटिभीले निगरानी राख्नेछ ।

सातपत्रे सुरक्षा घेराका लागि ५० हजार सुरक्षाकर्मी खटाइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । ओबामाको सुरक्षाका लागि अमेरिकाबाटै ५ सय गोप्य सुरक्षाकर्मी पनि भारत आइपुगेका छन् ।

गणतन्त्र समारोहस्थल नयाँ दिल्लीलाई उडान निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा गस्ती बढाइनुका साथै ठूल्ठूला भवनमा ‘स्नाइपर’ हतियारयुक्त विशेष दस्ता तैनाथ गरिएको छ ।

महात्मा गान्धीको समाधिस्थलमा श्रद्धान्जली अर्पण गरेपछि ओबामाले आजै हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

तीनदिने भ्रमणका लागि आएका ओबामा र अमेरिकी प्रतिनिधिमन्डलका लागि दिल्लीको मौर्य सेराटन होटलका ४ सय ३८ कोठा पूरै ‘बुक’ गरिएको छ । ओबामा चढ्ने कार अमेरिकाबाटै झिकाइएको छ भने ओबामा रहने र हिँड्ने क्षेत्रको ४ सय किलोमिटर क्षेत्रमा हवाई उडानमा रोक लगाइएको छ ।

अमेरिकाबाट ल्याइएका दुई दर्जनभन्दा बढी विशेष तालिम प्राप्त कुकुर पनि भ्रमण अवधिभर भारतमै रहनेछन् । (एजेन्सी)






प्रतिक्रिया दिनुहोस्...