एमाओवादीको जंगली मानसिकता अझै गएन : प्रधानमन्त्री, अब पछाडि फर्कन सकिँदैन : ओली


काठमाडौं, माघ ७ । विपक्षी दलहरुले लगातार संविधानसभा बैठक अवरोध गरेपछि संविधान जारी गर्ने पक्षमा रहेका दलहरुले अब पछाडि नफर्कने अठोट गरेका छन् । उनीहरुले अझ सुदृढ ढंगबाट संविधान निर्माण प्रक्रियालाई अघि बढाउने निर्णय गरेका छन् ।

संविधानसभाको बैठक स्थगित भएपछि मंगलबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रियप्रजातन्त्र पार्टी, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, दलित जनशक्ति पार्टी, परिवाद दल, जनजागरण पार्टी र दुईजना स्वतन्त्र सभासदहरुको संयुक्त बैठकले विचलित नभइ जनतालाई संविधान दिने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा सहभागी सबै दलहरुले सोमबार मध्यराति एमाओवादीहरुले संविधानसभामा गरेको तोडफोडको तीव्र निन्दा समेत गरेका छन् । बैठकमा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादीको ‘जंगली मानसिकता अझै पनि नगएको’ बताए ।

त्यसैगरी, एमाले अध्यक्ष केपी ओलीले जनताको आशालाई निराशमा बद्लिन नदिने भन्दै आफूहरु झनै एकताबद्ध रुपमा अघि बढ्ने बताए । ओलीले संविधानसभा प्रक्रियामा प्रवेश गरिसकेको भन्दै अब पछाडि फर्कन नसकिने स्पष्ट पारे ।

बैठकले संविधान पक्षीय सभासदहरुलाई विचार ब्यक्त गर्दा संयमता अपनाउन र कसैको बहकाउमा नलाग्न समेत निर्देशन दिएको छ ।

राप्रपा नेपालले समेत प्रक्रियाबाट संविधान जारी गर्नका लागि संविधान पक्षीय दलहरुलाई सहयोग गर्ने बताएको थियो ।





प्रतिक्रिया दिनुहोस्...