अगाडि बढ्दै नेपाली टोली


क्यानडालाई सजिलै हरायो नेपालले 
काठमाडौं : नामिबियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईमा नेपालले मंगलबार बलियो प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको छ। पहिलो खेलमा युगान्डासँग पराजित भए पनि लगातार दुई जित हात पार्दै नेपालले डिभिजन एकमा उक्लने सम्भावना कायमै राखेको छ। 
 

नेपाली टोलीले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई दुई विकेटले हराएको थियो। क्यानडा र नेदरल्यान्ड्स दुवै पछिल्ला तीनसहित चारचार पटक आइसीसी एकदिवसीय विश्वकप खेलिसकेका टोली हुन्। नेपालले यी दुवै टोलीलाई पहिलोपटक हराएको हो। 
 
कसिलो बलिङ प्रदर्शनलाई निरन्तरता दिँदै नेपालले जितको आधार तयार गरेको थियो। टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले ४९.२ ओभरमा सबै विकेट गुमाएर एक सय १४ रनमात्र जोड्न सक्यो। 
 
खेलको प्रारम्भदेखि नै नेपाली बलरले क्यानडालाई दबाबमा राखेका थिए। नेपालका तीव्र गतिका बलर करन केसीले पाँच विकेट लिए। सोमपाल कामीले दुई तथा पारस खड्का, शक्ति गौचन र सागर पुनले एकएक विकेट लिए। 
 
नेपालले २३.१ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पूरा ग:यो। कप्तान पारस खड्काले ७७ रनको योगदान गरे। ज्ञानेन्द्र मल्ल ३२ रनमा अविजित रहे। पारसले ७८ बलमा तीन छक्का र ११ चौका प्रहार गरे। ज्ञानेन्द्रले ५१ बलको सामना गरी पाँच चौका हिर्काए। यही खेलमार्फत पारस वल्र्ड क्रिकेट लिगमा एक हजार रन पूरा गर्न पनि सफल भए। 
 
आफूभन्दा केही कमजोर प्रतिद्वन्द्वी युगान्डासँग पहिलो खेलमै पराजित गरेपछि नेपाल दबाबमा थियो। तर बलियो प्रतिद्धन्द्वी नेदरल्यान्ड्स र क्यानडालाई हराएपछि नेपाली टोली खेलमा फर्किएको छ। दुवै खेलमा दोस्रो पालीमा ब्याटिङ गरेको नेपालले युगान्डालाई एक सय ४६ र नेदरल्यान्ड्सलाई एक सय ५९ रनमा समेटेर बलिङ प्रभाव देखाएको थियो। 
 
 
मंगलबार भएको अर्को खेलमा शीर्ष स्थानको होडमा रहेको नेदरल्यान्ड्स नामिबियासँग पराजित भएपछि नेपाललाई अगाडि बढ्न थप सहज भएको छ। नेपाल तीन खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। 
 
नामिबिया तीन खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। नेदरल्यान्ड्स, क्यानडा, केन्या र युगान्डाको दुईदुई अंक छ। नेपालले चौथो खेल बुधबार नामिबियासँग खेल्नेछ। 






प्रतिक्रिया दिनुहोस्...