भिडन्तमा गए उपलब्धी गुम्छ: प्रधानमन्त्री


फोटो :रासस
काठमाडौँ:  प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन छाडेर संविधान निर्माणमा जुट्न आन्दोलनरत दलहरुलाई आग्रह गरेका छन् । 
 
तामाङ समुदायको महान् पर्व ‘ल्हुक सोनाम ल्होसार २८५१’ को अवसरमा ल्हुक ल्होछार बृहत् मूल संयोजन समितिले आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलन र तोडफोडले कसैलाई पनि फाइदा नपुग्ने भन्दै अब बन्ने संविधानले मात्र सबै जातिको पहिचान र हकअधिकार सुनिश्चित हुने बताए । 
 
प्रधानमन्त्री कोइरालाले निर्धारित समयमै संविधान बने संविधानसभा भित्रका सबै दललाई त्यसको जश जाने बताए ।  कसैको भाषा, पहिचान र अधिकार कसैले रोक्न नसक्ने बताउँदै उनले अब बन्ने संविधानले सबै जातिको हक अधिकार सुनिश्चित हुने उल्लेख गरे ।  
 
आन्दोलनरत दलहरुप्रति लक्ष्यित गर्दै प्रधानमन्त्री कोइरालाले भने , 'आन्दोलनमा लागे अहिलेसम्मको उपलब्धि गुम्ने खतरा छ । संविधानले मात्र सबैको हक अधिकारको रक्षा हुन्छ । प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति भएको हैसियतले म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु तपाईहरुले अमनचैन दिनुस् र तपाईंहरुका हकअधिकार सुरक्षित र सुनिश्चित हुनेछन् ।” 
 
कार्यक्रममा आदिवासी जनजाति आन्दोलन समितिका संयोजक पद्मरत्न तुलाधरले जनजाति सदियौँदेखि शोषित र उत्पीडित रहेकाले अब बन्ने संविधानमा जनजातिको अधिकार सुनिश्चित हुने पहिचानसहितको सङ्घीयताका लागि आफूहरु सङ्घर्षरत रहेको उल्लेख गरे ।  
 
आदिवासी जनजाति आन्दोलनका अगुवा परशुराम तामाङले तामाङ समुदायको अधिकारका सबै तामाङ एकताबद्ध हुन जरुरी छ भने । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले सबै जाति र समुदायको पहिचान र अधिकार नयाँ बन्ने संविधानले सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।  
 
नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले सम्पूर्ण आदिवासी जनजातिको हकअधिकार सुनिश्चित गर्न सङ्घर्ष आवश्यक भएको बताए ।  कार्यक्रममा तामाङ कला र संस्कृति झल्कने विभिन्न साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
 
कार्यक्रम स्थलमा जातीय वेशभूषा र विभिन्न परिकार समेटिएका झन्डै १०० कक्षहरु राखिएका थिए । 






प्रतिक्रिया दिनुहोस्...