हिन्दू राष्ट्रको माग गर्दै सडकमा


सन्दिप भट्ट चितवन, माघ ३–नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने माग राख्दै हजारौँ जनता चितवनको सडकमा ओर्लिएका छन् । हिन्दू राष्ट्र बचाउँ अभियान २०७१ को आयोजनामा शुक्रबार चितवन, नवलपरासी र तनहूँको विभिन्न स्थानबाट ओमकार परिवारका व्यक्तिहरु नारायणगढमा उपस्थित भएका थिए । ओमकार लेखिएको झण्डा, भजनकिर्तन, नारा सहित निस्किएको ¥याली नारायणगढको क्याम्पाचौरमा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त कोणसभालाई सम्बोधन गर्दै सन्तहरुले नेपाललाई जनताको चाहना विपरीत धर्म निरपेक्ष राष्ट्र बनाइएको भन्दै पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेको थिए । केहि मुठीभरका नेताहरुले विदेशीको इशारामा नेपाललाई धर्म निरपेक्ष घोषणा गरेका कारण अब बन्ने संविधानमा हिन्दू राष्ट्र उल्लेख गरिनुपर्ने सन्तहरुको भनाई थियो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर रामानन्द गिरीले जन्मभूमिको रक्षार्थ नेपाललाई हिन्दू राष्ट्र नै कायम गर्नुपर्ने बताए । नेपाल हिन्दू राष्ट्र भएमा समग्र धर्मावलम्बीहरुको लागि पनि गौरबको विषय हुने गिरीको भनाई थियो । नेपाल हिन्दू राष्ट्र हुँदा कुनै पनि धर्ममाथि प्रहार भएको थिएन र धर्मको मामिलामा सबै धर्मका व्यक्तिहरु पनि नेपालमा नै सुरक्षित थिए गिरीले भने । युवा विद्वान चैतन्यकृष्णले नेपाललाई हिन्दू राष्ट्र बनाउनको लागि शुक्रबार चितवनमा गरिएको आन्दोलन सुरुआती आन्दोलन भएको बताए । नेपाल हिन्दू राष्ट्र हुँदा हाम्रो मन्दिरमा कसैलाई पनि प्रवेश निषेध गरिएको थिएन, चैतन्यकृष्णले भने, सबै धर्मपीठहरुमा सबै सम्प्रदायका व्यक्तिहरु पूजारी छन् । मनकामना मन्दिरमा मगर, बुढासुब्बामा लिम्बू, जनकपुरको रामजानकी मन्दिरमा मधेसी समुदायको पूजारी भएको बताउँदै चैतन्य कृष्णले भने, –‘नेपाल हिजो पनि हिन्दू राष्ट्र थियो, आज पनि हो र भोलि पनि हिन्दू राष्ट्र हुनेछ ।’ बेलायतको विद्यालयहरुमा संस्कृतको पढाई अनिवार्य जस्तै भएको र जर्मनको समाचार संस्थाले संस्कृतमा समाचार बाचन गर्ने गरेको बताउँदै नेपालमा गीता र महाभारतको पढाई अनिवार्य हुनुपर्ने चैतन्यकृष्णले बताए । १ सय ४५ राष्ट्र धर्मसापेक्ष मुलुक रहेकोमा नेपाललाई धर्मनिरपेक्ष भनि घोषणा गरीनु न्यायसंगत निर्णय नभएको चैतन्यकृष्णको भनाई छ ।

चैतन्यकृष्णले भने, ‘बाँसधेरै पाइने ठाउँलाई बाँसघारी भनिन्छ, सिस्नो धेरै हुनेठाउँलाई सिस्नोघारी भनिन्छ भने हिन्दु धर्म धेरै मान्ने राष्ट्र हिन्दुराष्ट्र हुनुपर्छ ।’ उक्त सभामा सनातन हिन्दू मोर्चा चितवनका संयोजक कृष्ण लामाले आफूहरुको आन्दोलनमा कुनै पनि राजनीतिक पार्टीहरुको प्रभाव नभएको बताए । ‘हामीले हाम्रो गुमेको पहिचानलाई स्थापीत गर्नको लागि हिन्दू राष्ट्रको माग गर्दै आन्दोलन थालेका हौ’ लामाले भने, ‘नेपाललाई हिन्दू राष्ट्र कायम गराउनका लागि गाउँ गाउँबाट जनता उठाउँछौ“ । आफूहरुलाई जस्तो सुकै संविधान भए पनि पुग्ने तर उक्त संविधानमा हिन्दू राष्ट्र नेपाल लेखिनुपर्ने लामाले बताए । कार्यक्रममा हिन्दू राष्ट्र बचाउँ अभियान २०७१ का संयोजक डाक्टर गुरुप्रसाद सुवेदीले हिन्दूत्व कुनै सम्प्रदाय नभएको र यो एउटा इतिहास भएकोले नेपाल हिन्दू राष्ट्र नै हुनुपर्ने बताए । सबै धर्मको सम्मानको लागि पनि नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने सुवेदीको भनाई थियो । कार्यक्रममा प्रेमनिधि भारद्वाज, सावित्री कंडेल, चन्द्रगोपाल अग्रवाल, आचार्य किशोर गौतम, रामप्रसाद श्रेष्ठ, कुमार थापा, डाक्टर बासुदेव शास्त्रीलगायतले मन्तव्य राखेका थिए । उक्त सभा हरिहर सन्यास आश्रम देवघाट धामका पीठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराजको अध्यक्षतामा सम्पन्न भएको थियो ।




प्रतिक्रिया दिनुहोस्...