स्पेनमा लडाकू विमान दुर्घटनामा १० जनाको मृत्यु


काठमाडौं, माघ १३ । स्पेनको अल्बासेतेस्थित एउटा हवाई सैन्य अखडामा ग्रीसको लडाकू विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)को संयुक्त हवाई सुरक्षा अभ्यासमा संलग्न ग्रीसको ‘एफ–१६’ न लडाकू विमान लोस लियानोस एअर बेसमा दुर्घटनाग्रस्त भएको हो ।

मृत्यु हुनेमा दुईजना ग्रीक पाइलट तथा ८ जनाफ्रान्सेली नागरिक रहेका छन् । उडान भर्नेक्रममा विमानका दुईमध्ये एकजना पाइलटले गल्ती गर्दा धावन मार्गभन्दा हजार फिट टाढा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको विमान विस्फोट हुँदा अरु ५ ओटा लडाकू विमानमा समेत क्षति पुगेको त्यहाँका अधिकारीहरुले बताएका छन् । दुर्घटनामा नेटो आवद्ध अन्य युरोपेली मुलुकका केही सैनिक घाइते भएका छन् ।

नेटोका सदस्य राष्ट्रहरुले स्पेनको उक्त विमानस्थललाई संयुक्त सैन्य हवाई अड्डाको रुपमा प्रयोग गर्दै आएका थिए । उक्त हवाई अड्डलाई आधार बनाएर हाल नेटोको ‘ट्याक्टिकल लिडरसीप प्रोग्राम’ चलिरहेको छ । (एजेन्सी)






प्रतिक्रिया दिनुहोस्...