देशमा डरलाग्दो प्रतिगमन आइरहेको छः भट्टराई 'शीर्ष बैठकमा उखान तुक्का, घोचपेचमात्रै हुन्छ'


BRB
काठमाडौं, पुस २२ - संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पछिल्ला राजनीतिक घटनाक्रमलाई हेर्दा देशमा डरलाग्दो ढंगले प्रतिगमन आइरहेको दाबी गरेका छन् ।
'अहिले माघ ८ मा जसरी भए पनि एक थान खोस्टो ल्याउने माहौल बनाइँदैछ । उहाँहरुलाई -कांग्रेस-एमाले) अन्तरबस्तु पनि चाहिएन प्रक्रिया पनि चाहिएन । सहमति गर्ने संवाद समिति, मस्यौदा लेख्ने मस्यौदा समिति, जनताको अभिमत संकलन गर्ने समिति सबैलाई निलम्बन गरिदिने अरे, एक जनाले संविधान लेखेर जारी गरिदिने अरे । यो के हो ? स्थिति निकै गम्भीर छ,' राजधानीमा मंगलबार तारालाल श्रेष्ठको पुस्तक 'बल्झिरहने अतित, अल्झिरहने वर्तमान'को विमोचन गर्दै उनले भने, 'यो प्रतिगमनको खतरा हो, देशमा डरलाग्दो ढंगले प्रतिगमन आइराखेको छ ।'
भट्टराईले मिडियाले पनि माघ ८ मा संविधान बनाउने कि नबनाउने भनेर आतंकित पारिरहेको आरोप लगाए । 'माघ ८ मै किन चाहियो ? माघ ९ मा भए किन हुँदैन ? प्रश्न त हक-अधिकार सुनिश्चित हुन्छ कि हुँदैन भन्ने हो,' उनले भने, 'माओवादीले देश टुक्रयाउन लाग्यो भन्ने कोकोहोलो जसरी मच्चाइँदै छ र माघ ८ मा संविधानका नाममा जसरी भएपछि एक थान खोस्टो भएपनि पारित हुनुपर्छ भन्ने ढंगले जुन माहोल बन्दै छ त्यो असाध्यै डरलाग्दो देखिएको छ । फाँसीवाद यसरी नै आउँछ ।'

'माघ ८ के हो ?'

'माघ ८ गते के हो ? न यो संवैधानिक विषय हो न कानुनी विषय हो । पहिलेको संविधानसभाको म्याद सकिन लाग्दा त्यत्तिकै त विघटन हुन दिनुहुँदैन भनेर मैले नै केही महिना समय थपौं न त भनेर प्रस्ताव गरेको थिएँ । मेरो क्याविनेटका कानुनमन्त्री कृष्ण सिटौलाले प्रस्ताव दर्ता गर्नुभएको थियो । तर त्यसबेला अहिलेका प्रधानमन्त्री सुशील कोइरालाले त्यसको विरोध गर्नुभयो । त्यसको केही पछि सर्वोच्च अदालतले नैै जेठ १४ गते राति १२ बजेपछि संविधानसभाको म्याद सकिन्छ भनेर फैसला गर्‍यो', पहिलो संविधानसभा विघटनको घटना उल्लेख गर्दै उनले भने, 'त्यतिबेला म्याद सकिँदै छ भन्ने सबैलाई थाहा हुँदाहुदै चाहिँ कसैको ध्यान पुगेन अहिले हाम्रो सभाध्यक्षले चाहिँ माघ ८ मै संविधान ल्याउन सबैले छोडेर मलाई देऊ भनिराख्नुभएको छ । जेठ १४ गते राती १२ बजे संविधानसभा विघटन हुँदै थियो । हामीले हात जोडेर संविधानसभाको बैठक सुरु गर्नुहोस भनेका थियौं । मैले बरु म इतिहासमा कालो टिका लगाएर भएपनि संकटकाल घोषणा गर्न तयार छु भन्दा उहाँले -संविधानसभा अध्यक्ष) मान्नुभएन । बैठक नै नबोलाएर संविधानसभा विघटन भयो । अहिले माघ ८ मा केही पनि हुनेवाला छैन । संविधानसभा विघटन हुनेवाला पनि होइन, सर्वोच्च अदालतले आदेश दिएको पनि छैन ।'

शीर्ष बैठकमा केही पनि हुँदैन

भट्टराईले अहिले नेताहरुको बैठकमा केही पनि नभएको बताए । 'तपाईंहरुलाई लाग्दो हो­- असाध्यै गहन ढंगले नेताहरु, सभासद्हरु छलफल गरिराखेका छन्, हाम्रो भविष्य निर्धारण गरिराखेका छन् । तर त्यसको चित्र मैले यहाँ बताउने हो भने अचम्म लाग्न सक्छ,' उनले भने, 'संविधानसभाभित्र त सार्वजनिक ढंगले बोलेको तपाईंहरुले सुन्नुभएको छ तर हामी साँझ-बिहानै शीर्ष नेताहरुको बैठक भनेर बालुवाटारमा, सिंहदरबारमा बस्छौं । त्यहाँबाट बाहिर निस्कँदा पत्रकारहरुले निकै घेर्नु पनि हुन्छ । तर त्यहाँ केही पनि हुँदैन । नेताहरु बस्नुहुन्छ, ठाक्क-ठुक्क उखान-टुक्काहरु जोड्नुहुन्छ, घोच-पेच गर्नुहुन्छ, चियापान हुन्छ, खानपिन हुन्छ र उठ्नुहुन्छ । बाहिर आएर उही कुरो दोहोरिन्छ - सहमतिको प्रयत्न हुँदैछ, सहमति हुँदैछ ।'




प्रतिक्रिया दिनुहोस्...