नेपाली बसेकै ठाउँमा पुगेर एमआरपी बाडिदै
काठमाडौं : हस्तलिखित राहदानी प्रयोगको अवधि सकिन लागेपछि विदेशस्थित नेपाली मिसनहरूले नेपाली बसेकै थलोमा एमआरपी पुर्याउन थालेका छन्। परराष्ट्र मन्त्रालयले विदेशस्थित ३१ वटै नेपाली कूटनीतिक नियोगलाई यसका लागि सक्रिय बनाएको छ। बराइनस्थित नेपाली दूतावासले बिदाका दिनमा पनि त्यहाँ रहेका नेपालीलाई लक्षित गरी राहदानी आवेदन फाराम भराउने काम थालेको छ। दूतावासले बहराइस्थित नेपाली संघसंस्था र नेपाली कामदार रहेका कम्पनीलाई फाराम भराउन सहयोग गर्न अह्वान गरेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको निर्णयअनुसार हस्तलिखित राहदानीको म्याद नोभेम्बर २५, २०१५ (२०७१ मंसिर ९) सम्म छ। सन् २०१० नोभेम्बरदेखि गत पुस १६ गतेसम्म झन्डै २३ लाख ६८ हजार नेपालीले एमआरपी लिएका छन्। राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाका अनुसार कर्मचारी नपुगेमा परराष्ट्र मन्त्रालयबाट थप कर्मचारी टोली पठाउने योजना छ। खाडी मुलुकमा नेपाली कामदारको राहदानी कम्पनीले राख्ने भएकाले त्यस्ता ठाउँमा कम्पनीलाई अनुरोध गरी सामूहिक रूपमा फाराम भराउने र वितरण गर्ने योजना विभागको छ। यसरी भरेर परराष्ट्रमा आएका फाराममा त्रुटि भेटिए फिर्ता पठाइने गरिए पनि छिटो वितरणका लागि आवेदकलाई मन्त्रायलबाटै फोन सम्पर्क वा एसएमस गरेर विवरण सच्याइनेछ। दूतावासबाट फाराम आएपछि सात देखि १० दिनभित्रै एमआरपी तयार गरी पठाउने गरिएको जानकारी पनि महानिर्देशक थापाले दिए। १० महिनामात्र समयावधि रहेको स्थितिमा अब एमआरपी बनाउन चाप बढ्ने महानिर्देशक थापा बताउँछन्। उनका अनुसार सेवा सहज बनाउन एमआरपी छपाइ मेसिनको क्षमता बढाउने गृहकार्य भइरहेको छ।