सहमति विपरीत समिति गठन गर्नु महाभूल: अध्यक्ष दाहाल


एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सहमति विपरीत संविधानसभामा प्रश्नावली समिति गठन गर्ने कामलाई महाभूलको सङ्ज्ञा दिनुभएको छ।
काठमाडौँ, ११ माघ - एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सहमति विपरीत संविधानसभामा प्रश्नावली समिति गठन गर्ने कामलाई महाभूलको सङ्ज्ञा दिनुभएको छ ।

संविधानसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले प्रश्नावली निर्माण कार्यसँग राजनीतिक दलहरु स्पष्ट रुपमा दुई कित्तामा विभाजित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दलबीच ठूलो विभाजन भयो, दुई कित्तामा उभिनुपर्ने परिस्थिति देखिएको छ, मुलुकलाई प्रतिगमन र द्वन्द्वतिर लैजाने काम भएको छ ।” संविधानसभाका अध्यक्ष पार्टीको प्रवक्ताका रुपमा प्रस्तुत हुनुभएको बताउँदै अध्यक्ष दाहालले सभाध्यक्षले कलङ्कको टीका लगाउनुभएको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “सयौँ प्रहरी तैनाथ गरेर संविधानसभालाई व्यारेकमा परिणत गर्ने बडो विचित्र खेल भएको छ । जनतामाथि प्रहार भएको छ ।

अन्तिम दिनसम्म यस्ता हर्कतविरुद्ध प्रतिवाद गर्नेछौँ ।’” नियम कानुन मिचेर चालिएको उक्त कदमले शान्ति सम्झौताको मूल मर्ममाथि नै प्रश्न खडा गरेको र तरबार उज्याएको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले नियम र कानुन विपरीत संविधानसभामा ल्याइएको प्रश्नावली निर्माणसम्बन्धी प्रस्तावका विरुद्ध जनतामा जाने जानकारी दिनुभयो ।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ऐन, नियमविपरीत प्रश्नावली समिति गठनसँगै दलहरु स्पष्ट रुपमा विभाजित भएको प्रतिक्रिया दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्...