एमाओवादी रंग फेर्ने छेपारो : ओली, दुई तिहाइमा संविधान जारी गर्ने उद्घोष (भिडियोसहित)


काठमाडौं, माघ ५ । नेकपा एमालेका शीर्ष नेताहरुले आगामी माघ ८ मा संविधान जारी गर्न असम्भव भएकाले प्रक्रियाबाट अबको एक/डेढ महिनामा संविधान जारी गर्ने बताएका छन् ।

एमाले केन्द्रीय कार्यालयले सोमबार राजधानीमा गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले एकीकृत माओवादी र उसको मोर्चा सहमतिका नाममा संविधान जारी नगर्ने खेलमा लागेकोभन्दै अब दुई तिहाइका आधारमा संविधान जारी गर्ने उद्घोष गरेका हुन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले लोकतन्त्रवादीको दुई तिहाइ जोगाएर संविधान जारी गर्ने दाबी गरे ।

उनले ‘छिनमै सहमतिमा आउने र छिनमै सहमत विषयमा सहमति नभएको भन्ने एकीकृत माओवादी रंग फेर्ने छेपारो हो’–भने ।

आफू मात्र होइन एमालेका कुनै पनि नेतालाई सत्ताका लागि हतार नभएको भन्दै अध्यक्ष ओलीले एमालेको सबै ध्यान संविधानमै केन्द्रित भएको बताए ।

यस्तै, एमाले वरिष्ठ नेता झलनाथ खनालले दलहरु माघ ८ को नैतिक बन्धनबाट चुकेको भन्दै प्रक्रियाबाट संविधान ल्याउन कम्तिमा पनि एक/डेढ महिना लाग्ने बताए ।

नेता माधवकुमार नेपालले पनि अल्पमतको बन्धक बहुमत नहुने जिकिर गरे ।

कार्यक्रममा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीलगायतले पनि एमाओवादी र उसको मोर्चाले सहमतिका नाममा गरेको अलमललाई तोड्दै दुई तिहाइ बहुमतको बलमा संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए 





प्रतिक्रिया दिनुहोस्...