जापानमा एकचालीस देशका १९५ जनालाई पछि पर्दै नेपाली विद्यार्थी सर्वोत्कृष्ट


संसारभर छरिएर रही नेपालको शिर उच्च राख्न हरेकपल तयार रहने नेपाली मध्ये आज फेरी अर्का एक नेपाली युवकले जापानमा आफुलाई सर्वोत्कृष्ट सावित गर्दै नेपालको शिर उच्च बनाएका छन् | जापानमा अध्ययनरत नेपाली विद्यार्थी सहदेव श्रेष्ठ जापान फरेन ट्रेड काउन्सिल इंकको प्रायोजनमा हरेक वर्ष हुने अंग्रेजी भाषाको निबन्ध प्रतियोगितामा प्रथम स्थान हात पर्दै ग्रयाण्ड अवार्डबाट सम्मानित भएका छन् | एकचालीस देशका १९६ प्रतियोगीले भाग लिएको प्रतियोगितामा सहदेव प्रथम भई नेपालको शिर उच्च बनाएका हुन् | प्रथम भएका उनले अवार्डसहित १० लाख जापानी येन पुरस्कार स्वरुप प्राप्त गरेका छन् । सहदेवले प्रतियोगितामा ‘ट्रेडिङ कम्पनीको आर्थिक सफलताका लागि रोडम्याप’ शीर्षकको निबन्ध लेखेका थिए । प्रतियोगितामा जापानका हिरोआकी माचुयामा, अमेरिकी रामेश सुवाराबन र बेलायती सिमोन क्याम्पबेलले जनही २–२ लाख येन तथा बोस्नियाकी जेज्ला हड्जीलकले १ लाख येन नगदराशीको स्पेशल अवार्ड प्राप्त गरेका थिए । प्रतियोगितामा विजयीहरुलाई बुधबार टोकियोस्थित होटल न्यू ओतानीमा आयोजित रात्रीभोजसहितको एक विशेष कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष एइजो कोबायासीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै अवार्ड विजेता सहदेवले पुरस्कार पाएकोमा आफू निकै उत्साहित भएको बताएका थिए । कार्यक्रममा जापानका अर्थ, वाणिज्य तथा उद्योग राज्यमन्त्री डा.दाइसिरो यामागिवा, जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराईलगायतको समेत सहभागीता थियो ।




प्रतिक्रिया दिनुहोस्...