म ढिँडो खान्छु, विप्लव मीठो खानुहुन्छ : प्रचण्ड


'विप्लवजी पनि एकछिन बुरुक्क उफ्रिने मात्रै हो'
२६ पुस, काठमाडौं । माओ जयन्तीका दिन खुल्लामञ्चबाट माओवादी नेता विप्लवले प्रचण्ड-बाबुरामलाई आरोप लगाउँदै सर्वहारा नेताहरु काठमाडौं पसेपछि बिग्रिएको बताएका थिए । अहिले दाङमा भइरहेको भेलामा पनि विप्लवले कार्यकर्तालाई यही भनिरहेका छन् । तर, विप्लवलाई प्रचण्डको जवाफ छ- ‘म मकैको ढिँडो खाइरहेको छु, विप्लवले मीठो खाइरहनुभएको छ । रोल्पामा बस्दा विप्लवजी नै थिए मलाई मीठो मीठो खुवाउने ।’

माओवादी पार्टीमा आएको विभाजन, एकताको प्रयास र विप्लवले लगाइरहेको आरोपलगायतका विषयमा अनलाइनखबरसँगको विशेष कुराकानीमा प्रचण्डले भने- ‘विप्लवजीहरु एकछिन बुरुुक्क उफ्रिने मात्रै हो । उहाँको जीवनशैली पनि मेरोभन्दा केही फरक छैन । उहाँ पनि गाडीमै हिँड्नुहुन्छ । घरमै बस्नुहुन्छ । कोट लगाएरै हिँड्नुहुन्छ । मेरोभन्दा मीठो खानुहुन्छ । मेरो त बरु बिरामी भएकाले बिहान जाउलो, बेलुका ढिँडो खाने हो ।’
प्रचण्डसँग अनलाइनखबरले गरेको कुराकानीको अंश

पार्टीलाई एकतावद्ध गर्नुपर्छ भनेर हामीले बिराटनगर सम्मेलनपछि अनि केन्द्रीय समितिमा पनि र अहिले पनि प्रस्ताव पेश गरिराख्याछौं । पहिला माओवादीजतिलाई एकतावद्ध गर्ने, माओवादी आन्दोलनको पुनःगठन गर्नुपर्ने भो । पुनःएकीकरण गर्नुपर्ने भयो भन्ने नै लाग्या छ र हामी त्यसमा लागिरहेका छौं ।वैद्यजीलगायत अहिले भर्खरै अलग भएका विप्लवजीहरुसँग कुनै न कुनै रुपमा हाम्रो अहिले पनि छलफल चलि नै राखेको छ । हामी छलफल हामी अगाडि बढाइराख्न चाहन्छौं ।

त्यस्तै, मात्रिका यादव, मणि थापाहरुसँग त सकारात्मक कुरा भइ नै राख्या छ । र, म के आशा गर्छु भने निकट भविश्यमा एउटा माओवादी आन्दोलनको पुनःएकीकरणको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने लाग्या छ । म आशावादी पनि छु र पहल अगाडि बढी पनि राख्याछ ।

विप्लवले गरेको गालीबारे
गाली त अब केही गर्न सक्दिँन । दलाल, गद्दार भनेर निर्मल लामालाई मोहनविक्रमले सीआइडी भनेपछि फेरि पार्टी एकता गरे । यो के भन्ने । यी कम्युनिष्टलाई छारे रोग लागेको छ, यो रोगको उपचार गर्छु भन्याछु मैले । यो रोग हो, कम्युनिष्टको क्या । एकछिन भन्छन्, फेरि मिल्नुपर्छ । पछि फेरि किन भनिएछ भन्ने हुन्छ फेरि । बेकार भनिएछ भन्ने हुन्छ । अनि त्यो शैयामा लामाजी भएका बेला मोहनविक्रम गएर तपाईलाई मैले गल्ती गरें भनेर भनेजस्तै भन्नुपर्ने हुन्छ ।विप्लवजीहरु पनि एकछिन बुरुक्क उफ्रिने मात्रै हो । उहाँको जीवनशैली पनि मेरोभन्दा केही फरक छैन । उहाँ पनि गाडीमै हिँड्नुहुन्छ । घरमै बस्नुहुन्छ । कोट लगाएरै हिँड्नुहुन्छ । मेरोभन्दा मीठो खानुहुन्छ । मेरो त बरु बिरामी भएकाले बिहान जाउलो, बेलुका ढिँडो खाने हो । त्यसकारण त्यो पनि बेकारका कुरा हुन् । भन्नका लागि भन्ने कुरा हुन् ।

सर्वहाराकरणकै कुरा गर्नुहुन्छ भने म विप्लबजीसँग दुई वर्ष रोल्पा रुकुममा बस्दा मजति सर्वहाराकृत थिएँ भन्ने मलाई लाग्छ, अहिले यहाँ आएर त्योभन्दा बढी पुँजीवादीकरण भएँ भन्ने मलाईचाहिँ लागेकै छैन । म त अझ बढी सर्वहाराकृत यहाँ भएजस्तो लागेको छ । त्यहाँ त बरु मैले त्यति धेरै दुःख पनि गर्नुपर्दैनथ्यो । विप्लवजी जस्ता साथीहरु नै थिए मीठो मीठो खुवाउने ।यहाँ बरु मलाई दुःख छ । यहाँ, यो घरमा बसेर मलाई आनन्द लिएको छु भन्ने मलाई केही पनि छँदै छैन । रात दिन टेन्सन, लडाइँ, विवाद, बहस, तनावबाहेक केही पनि छैन । यो केको निम्ति गरिएको छ त योभन्दा खेरि आफ्नो निम्ति त गरिया’छैन ।

यो त खालि राष्ट्रलाई के गरी बचाउने, देश र जनतालाई गरिएको प्रतिवद्धता के गरी पूरा गर्ने, संविधानमा जनताका एजेण्डा, मुद्दाहरुलाई कसरी संस्थागत गर्ने र यो देशलाई छिटो विकास कसरी गर्ने भन्ने चिन्ता छ । क्रान्तिलाई नयाँ ढंगले कसरी अगाडि बढाउने भन्नेबाहेक दिमागमा केही पनि छैन, अरुले भनेर म मान्छु र ? अरुले चाहिँ जति कराए पनि, कुर्लिए पनि म मान्दिँन । त्यो साँचो कुरो होइन ।हाम्रो अहिले सर्वहारा आन्दोलनलाई नयाँ तरिकाले अगाडि बढाउनुपर्छ । 

पुरानो तरिकाले जान्छौं भन्दा त संसारभरि नै ध्वस्त भए नि त । रुस के भयो ? अरु के भए ? पूर्वी युरोप के भयो ? पेरु के भयो ? बर्मा के भयो ? फिलिपिन्स के भयो ? टर्की के भयो ? मलाया के भयो ? हेर्न परेन ? नेतृत्वले त सबैतिर हेर्नुपर्‍यो । संसारकै यो अन्तर्राष्ट्रिय आन्दोलन हो नि त कम्युनिष्ट आन्दोलन भनेको । अन्तर्राष्ट्रिय आन्दोलन हेरेर भिन्न तरिकाले नयाँ एउटा विचारको विकास गर्ने, नयाँ रणनीतिको विकास गर्ने, नयाँ ढंगले जानेभन्दा कतिपय बेला गल्ती कमजोरी पनि भएका छन् । यी गल्ती कमजोरीबाट शिक्षा लिएर अगाडि जाने कुरा हो । हाम्रो पार्टीर्ले त्यही गर्या छ ।

अब यो पार्टीलाई पुनगर्ठन गर्न, एकीकरण गर्नका लागि सबैभन्दा पहिला त एमाओवादीभित्रै दह्रो एकता हुनुपर्‍यो भनेर नै मैले अब महाधिवेशनको सन्दर्भमा नेतृत्वसम्बन्धी अवधारणा पनि नयाँ विकास गरौं, उत्तराधिकारी तयार पार्ने सिद्धान्त पनि नयाँ बनाऔं भनेको छु ।अहिले त प्रचण्डलाई लखेेट्ने एउटा हावा चल्या छ नि, हावाहुरी, त्यो हुरीमा मान्छे त्यसै हिँड्दा रहेछन्नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया पनि सुनिश्चित गरिदिउँ । किनकि मैले जनयुद्धकै बेलामा रोल्पाको दुम्लामा बैठक बस्दाखेरि नै अब एउटै मान्छे अध्यक्ष भएको भई गर्नेचाहिँ ठीक छैन भनेर १० वर्ष आगाडि भन्या कुरा हो यो ।

एघार वर्ष अगाडिको यो कुरा मान्छेले हेर्दै नहेर्ने । अहिले त प्रचण्डलाई लखेेट्ने एउटा हावा चल्या छ नि, हावाहुरी । त्यो हुरीमा मान्छे त्यसै हिँड्दा रहेछन् ।मैले चुनबाङ बैठकमा जतिबेला हामी शान्ति प्रक्रियामा आउने आधार बन्यो, त्यहाँ मैले खुलेरै भन्याछु म एकाध कार्यकालभन्दा बढी (डकुमेन्टमा पनि छ) अध्यक्ष पदमा बस्नु हुँदैन । यो ठीक छैन । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभवले पनि मान्छे नमर्दासम्म अध्यक्ष भइराख्ने कुराले कहीँ मद्दत गरेन । त्यही भनेरै बोलेको छु । सीसी मिटिङमा पास भएको छ, त्यो प्रस्ताव । त्यसकारण मैले त्यहाँ पनि भन्याथें ।

हेटौडाको महाधिवेशनमा अब यो अर्को महाधिवेशनसम्म मात्रै हो है मचाहिँ, त्यसपछि म अर्को अलि भिन्न भूमिकामा लाग्छु, त्यसको अर्थ म राजनीतिबाट सन्यास लिन्छु, छोड्छु भन्ने कुरा त होइन नि । राष्ट्रप्रतिको जिम्मेवारी, वर्गप्रतिको जिम्मेवारी छोड्ने भन्या होइन ।नेतृत्व हस्तान्तरण गर्ने अथवा उत्तराधिकारी तयार पार्ने भनेको त्यो होइन । नेतृत्वलाई अझमाथि उठाउने भन्या हो । म पनि अझमाथि उठ्छु भन्ने छ मलाई । अध्यक्ष छोड्दा म तल जान्छु भन्ने लागेको छैन मलाई ।

 किनभने प्रचण्ड भन्ने त भइसक्यो नि आन्दोलनको एउटा । त्यसकारण मैले त्यो सेगि्रफाइस गरेँ भने प्रचण्डलाई तल झार्दैन अझ माथि लान्छ । बाबुरामलाई पनि माथि लान्छ, नारायणकाजीलाई पनि माथि लान्छ। समग्र पार्टीलाई नै माथि लान्छ भन्ने बुझाइमा आधारित भएर भनेको हो मैले । र, यो एउटाले दिएँ मैले, तैँले चाहिँ लिने भनेजस्तो कुरा होइन । एउटा महान काम हामीले सुरु गर्न खोज्या हो । यसले चाहिँ एमाओवादीलाई एकता पनि गर्छ ।


मैले त किरणजीहरुलाई पनि भनिराख्या छु । तपाईँहरु आउनुस्, यो बहसमा भाग लिउँ र एउटा नयाँ विचारको विकास गरौं । महाधिवेशनसम्म एकता भएर जाने सम्भावना छ । मेरो दृष्टिमा, मेरो बुझाइमा र मेरो कोसिसमा त्यो सम्भावना छ ।





प्रतिक्रिया दिनुहोस्...