दक्षिण अफ्रिकामा चम्किए पारस : ७ विकेटको जीत


अलराउण्ड प्रदर्शन गर्ने क्षमता राख्ने नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले दक्षिण अफ्रिकामा चलिरहेको अभ्यास खेलमा त्यसलाई प्रमाणित गरिरहेका छन् ।

नामिबियामा हुने आईसीसी लिग डिभिजन २ को तयारीका लागि दक्षिण अफ्रिकामा अभ्यास खेल अन्तर्गत तेस्रो खेलमा पारसको उत्कृष्ट शतकीय पारीसंगै ३ विकेट लिएपछि नेपालले दक्षिण अफ्रिकाको इश्टर्न इन्भिटेशनल ११ माथि ७ विकेटको जित हात पारेको छ । इश्टर्नले प्रस्तुत गरेको २५७ रनको लक्ष्य नेपालले पारसको शतकको मदतमा ४६.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । ११४ बलको सामना गरेका खड्का १२३ रनमा अविजित रहे । उनले १५ चौका र २ छक्का हानेका थिए । पारसले आइतबारको अभ्यास खेलमा पनि ७९ रनको अद्र्धशतकीय पारी खेलेका थिए । मपुमलंगा टोली ६४ रनले पराजित भएको थियो । उपकप्तान ज्ञानेन्द्र मल्लले शर्तकतक पुरा गरे । मल्लले ९२ बलको सामना गरी ५३ रन बनाए भने नेपालका अर्का भरपर्दा ब्याट्सम्यान शदर भेसवाकर २१ रनमा अविजित रहे । नेपालको सुरुवाती व्याटिङ भने सोमबार पनि चलेन । नेपालले पहिलो विकेट भने सुरुमा नै गुमाएको थियो । दोस्रो ओभरमा नेपालले कुल ५ रन जोड्दा ओपनर नरेश बुढायरलाई पहिलो विकेटको रुपमा गुमायो । ओपनर सुवास खकुरेल र उपकप्तान ज्ञानेन्द्रले नेपाली पारीलाई केही उकासे । सुवास दोस्रो विकेटका रुपमा व्यक्तिगत ३२ रनमा आउट भए । यसअघि पहिले व्याटिङ गरेको इश्टर्नले ४८.३ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो । नेपालका कप्तान पारस खड्काले ३ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले दुई डेमन राख्दै ३६ रन दिए । सोमपाल कामी, करण केसी र शक्ति गौचनले समान २-२ विकेट लिए भने बसन्त रेग्मीले एक विकेट लिए ।




प्रतिक्रिया दिनुहोस्...