खुकुरी र लौरो लिएर जीतबहादुर संविधानसभामा छिरेपछि..
२५ पुस, काठमाडौं । कम्मरमा कब्जावाल दापसहितको खुकुरी भिरेका, हातमा काँडैकाँडा भएको घंगारुको कलात्मक लौरो बोकेका जीतबहादुर संविधानसभा भवनको मुख्यद्वारमा पुग्दा एकछिन रमिता नै लाग्यो ।
कालो लङकोटमा ठाँटिएका जीतबहादुरले भित्रपट्टि रातो टी-सर्ट लगाएका थिए । कपाल महिलाको जस्तै लामो थियो । त्यसमाथि ढाकाटोपी । लुंगी लगाएकी कुमारीले गुम्लुङ्ग बर्की ओढेकी थिइन् । उनीहरु संविधानसभा भवन अगाडि पुग्दा अचम्मित देखिन्थे ।
आफ्ना सभासदले भित्रबाट पठाएको दर्शक पास देखाएपछि उनलाई प्रहरीले भित्र जान अनुमति दिए । त्यसपछि सुरक्षा जाँचमा पुगेपछि उनको कम्मरको खुकुरी त्यहीँ जफत भयो ।
‘भित्रबाट आउनुस, जाने बेलामा तपाईको खुकुरी पाउनुहुन्छ’ मेटल डिटेक्टर समातेका सुरक्षाकर्मीले यसो भनेपछि उनले अनि लौरो नि ? भन्ने प्रश्न गरे । ‘लौरो टेकेरै जानुस’ प्रहरीको अनुमति पाएपछि उनी आफ्नी जोईलाई पछि लाउँदै संविधानसभा परिसरभित्र छिरे ।
उनी रहेछन् भोजपूर चम्पे गाविसस्थित सोर्याङ गाउँका किसान जीतवहादुर राई । श्रीमती कुमारी राईको उपचार पनि गरौं, संविधान कसरी लेख्दै छन् त्यो पनि हेरौं भनेर काठमाडौं आएका रहेछन् जीतबहादुर ।
भोजपुर क्षेत्र नं १ का आफ्ना सभासद कृपासुर शेर्पाले दर्शक पास मिलाइदिएपछि विहीबार उनी पहिलोपटक संविधानसभा भवन छिरेका हुन् । ‘चिया खुवाए, भित्र पनि ल्याए, अब खाजा पनि ख्वाउलान्’ आफ्ना सभासदसँग दंग भए उनी ।
हेर्दै लोभलाग्दो, चराको आकृति सहितको घंगारूको लौरो लिएर जीतबहादुर दम्पत्ति संविधानसभा भवनभित्र छिर्दा सभासदहरु पनि उनीहरुलाई नहेरी रहन सकेनन् ।
थरुहट पार्टीका सभासद गोपाल दहितले लौरो सुम्सुम्याउँदै मन पराएको देखेपछि एमाले सभासद कृपासुरले परैबाट भने-एक हजारको लौरो हो, चानचुने होइन ।
सभासदले कहाँ बसेर बोल्छन् ? अनलाइखबरकर्मीसँग जीतबहादुरले सोधे । उनलाई दर्शकदीर्घासम्म पुर्याउँदै गर्दा भनिहाले- ‘माघ ८ गते संविधान दिन्छौं भन्थे, के गर्दैछन् भनेर हेरुम् भनेको नि ।’
संविधानसभा भवन, त्यहाँको रंगीचंगी माहौल र नेताहरुलाई देखेपछि उनी लौरो सोझ्याउदै श्रीमती कुमारीलाई भन्दै थिए-ऊ यही रहेछ संविधान बन्ने घर ।
एकटकले संविधानसभा भवन हेर्दै जीतवहादुर गम्भीर बने । ‘यसपालि पनि संविधान दिएनन् भने त अब यही लौरोले ठोक्ने हो ।’
जीतबहादुर एकाएक मूडमा आएको देखेपछि श्रीमती कुमारीले भनिन् ‘चुप लाग, अरुले सुन्लान्’ ।
जीतबहादुर एकाएक मूडमा आएको देखेपछि श्रीमती कुमारीले भनिन् ‘चुप लाग, अरुले सुन्लान्’ ।
करीव एक घण्टाको संविधानसभाभित्रको बहसमा प्रत्यक्षदर्शी बनेर निस्किँदा जीतबहादुर आफ्नो नामको उल्टो हारेका ‘हारबहादुर’ जस्तै देखिए । खुइय सुस्केरा हाल्दै उनले भने-‘यिनका ताल हेर्दा संविधान आउला जस्तो लागेन त हौ ।’
उनी संविधानसभामा सभासदका कुरा सुनेर दिक्क भएछन् । ‘कोही जातका कुरा गर्ने, कोही मधेसका कुरा गर्ने, खोइ त जनताका कुरा कसले गर्ने ?’
जीतबहादुर भन्दै थिए ‘संविधान दिने भनेर आएकाहरु त जातभातका कुरा पो गर्दा रैछन्’ ।
उत्साह बोकेर भित्रिएका जीतवहादुर निराशा बोकेर फर्किनै लाग्दा संविधानसभाको क्यान्टिनतिर आँखा लगाए । ‘यो मन्त्री र सभासदले खाने होटेल हो ?’ उनले फेरि प्रश्न गरे ।
भोकाएका जीतबहादुर र कुमारी आफ्ना सभासद कृपासुर शेर्पा कतै छन् कि भनेर खोज्दै थिए । ‘खाजा खाएर जाउला भनेका थिए, भित्र बैठक छाड्न मिल्दैन होला, जाउँ भन्दै कुमारीलाई अघि लाएर उनी बाहिरिए ।
सुरक्षाकर्मीले राखेको खुकुरी फिर्ता लिएपछि दौराको फेरभित्र घुसार्दै जीतबहादुरले भने- ‘यिनले संविधान बनाउलान् जस्तो बडै लागेन हौ ।’
जीतबहादुर र कुमारीलाई खाजा खुवाएर बिदा गर्न सभासद कृपासुर शेर्पा बाहिर निस्किँदा उनीहरु संविधानसभाबाट अलप भइसकेका थिए । ‘फोन पनि लाग्दैन, खाजा नखाई गएछन्’ शेर्पाले जीतबहादुरको परिचय गराउँदै भने-‘ऊ गाउँको साह्रै मेहनती किसान हो, मान्छे परिचालन गर्ने सामाजिक कार्यकर्ता पनि हो ।’
जीतबहादुर र कुमारीलाई खाजा खुवाएर बिदा गर्न सभासद कृपासुर शेर्पा बाहिर निस्किँदा उनीहरु संविधानसभाबाट अलप भइसकेका थिए । ‘फोन पनि लाग्दैन, खाजा नखाई गएछन्’ शेर्पाले जीतबहादुरको परिचय गराउँदै भने-‘ऊ गाउँको साह्रै मेहनती किसान हो, मान्छे परिचालन गर्ने सामाजिक कार्यकर्ता पनि हो ।’
खाजा खुवाउन नपाए पनि माघ ८ मा संविधान दिन सके जीतबहादुरले आफ्ना सभासद कृपासुरलाई धन्य सम्झिने थिए कि ?