पूजा बोहरा र पूजा कार्कीले रेखाको फिल्म खेल्ने


सामूहिक बलात्कारमा परेकी पूजा बोहरा र आफ्नो बुबा तथा हजुरबुवाबाट बलात्कारको शिकार भएकी पूजा कार्कीलाई भेट्न नेपाली चलचित्रकी नायिका रेखा थापा रक्षा नेपाल पुगेकी छिन् ।संचार माध्यममा दुई पूजाको बारेमा धेरै कुरा सुनेकाले आफू आएको उनले बताइन् । रेखाले आफूद्धार अभिनित चलचित्र ‘तथास्तु’को कथावस्तु र २ पूजाको जीवनकथा उस्तै रहेको खुलाइन् ।

चलचित्रमा रेखाले आफू आफ्नै श्रीमान्बाट बलात्कृत हुने नारीको भूमिकामा अभिनय गरेकी छिन् । उनले दुई पूजाको कथालाई आफ्नो चलचित्रले सम्बोधन गरेकाले भेट्न आएको जनाइन् । रेखाले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘रामप्यारी’मा पूजा बोहरा र पूजा कार्कीले अभिनय गर्नेछन् ।

हालसम्म सार्वजनिक नभएका दुई पूजा रेखाकै चलचित्रबाट सार्वजनिक हुनेछन् । चलचित्रका निर्देशक सविर श्रेष्ठले आफूले चलचित्र निर्माण अघि नै रक्षा नेपालमा आएको भए अझ राम्रो कथा पाउने बताउँदै ‘तथास्तु’ले केही हदसम्म भएपनि बलात्कारमा पर्ने महिलाहरुको कथालाई सम्बोधन गरेको खुलाए ।

३२ जना बालबालिका तथा किशोरीहरुलाई संरक्षण दिदै आएकी रक्षा नेपालकी प्रमुख मेनुका थापाले आफ्ना छोराछोरीहरुको सपना रेखा थापा जस्तै  हिम्मतवाली बन्ने रहेको सुनाइन् । कार्यक्रममा बोल्दै पूजा बोहराले कुनै पनि बलात्कारीलाई कानुनले छोड्न नहुने बताइन् ।

चलचित्र ‘तथास्तु’का निर्माता रामहरी धिताल, निर्देशक सविर श्रेष्ठ र रेखा थापा फाउन्डेशनको तर्फबाट नायिका रेखा थापाले रक्षा नेपाललाई १५ हजारको चेक हस्तान्तरण गरेकी छिन् ।रक्षा नेपालका रहेका बालबालिका तथा किशोरीहरुलाई आइतबार चलचित्र ‘तथास्तु’ देखाइने निर्देशक श्रेष्ठले बताए । चलचित्र भोली अर्थात पौष २५ गतेबाट चल्दैछ ।





प्रतिक्रिया दिनुहोस्...