जनताले कि भत्ता फिर्ता देऊ कि संविधान देऊ भने–बाबुराम
फोटो :फाइल फोटो
काठमाडौं : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले जनतासँग एक वर्षभित्र संविधान बनाउँछौ भनी गरेको बाचा पुरा गर्नुपर्ने बताएका छन् ।
बिहीबार दिउँसो बसेको संविधानसभाको बैठकमा बोल्दै एमाओवादीका नेता समेत रहेका सभापति भट्टराईले संविधान बनाउन राजनीतिक अंक गणित मात्र नभएर बिज गणितको पनि जरुरी रहेको जिकिर गरे ।
‘एक वर्षमै संविधान बन्नुपर्छ भन्ने हाम्रो प्रतिवद्दद्धा हो’, सभापति भट्टराईले भने, ‘जनताले कि भत्ता देऊ कि संविधान देऊ भन्न थालिसके । तर प्रगतिशिल संविधान दिनुपर्छ भन्ने हाम्रो अडान हो ।’
आमजनतामा माघ ८ मै संविधान बन्ने विश्वास रहेको बताउँदै भट्टराईले यदि संविधान नबने त्यसको दोषबाट कोही पनि उम्कन नसक्ने दाबी गरे ।
अझै पनि विवादका धेरै विषय अलपत्र रहेको बताउँदै भट्टराईले दलहरुबीचको टकरावले संविधान बन्न नसक्ने अवस्था आएको बताए । ‘पहिलो सांविधानसभाको स्वामित्व लिने नलिने विवाद अझै टुंगेको छैन’, भट्टराईले भने, ‘संवाद समितिमा अधिकतम सहमतिको प्रयास भएको हो । समितिकै काँधमा पुनः जिम्मेवारी आएकाले पुनः सहमतिको प्रयास गर्नेछौं । माघ ८ मा सहमतिको संविधान ल्याउन अधिकतम प्रयास हुनेछ ।’