प्रधानमन्त्री र कांग्रेस नेताहरु नै सहमति विरोधीः दाहाल (अडियोसहित) 'बरु बाहिर मसँग ओली सकारात्मक हुनुहुन्थ्यो'


एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला नै सहमतिविरोधी भएको आरोप लगाएका छन् । दाहालले प्रधानमन्त्रीले प्रक्रियामा जाने नै भनेको उल्लेख गर्दै कांग्रेसका केही नेताहरु सहमति हुन नदिन लागेको आरोप लगाए । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै दाहालले दाहालले भने, 'सहमति नगर्नेमा चाँही सक्रिय प्रधानमन्त्री हुन थाल्नुभयो, दुइटा मिलेका विषय पठाउँ भन्ने कुरा हुँदै थियो प्रधानमन्त्री स्वयंले अब सहमति हुनै सक्दैन प्रक्रियामा जाने भन्नुभयो । सहमतिको कुरै छाड्नुभयो ।' दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली भने आफूसँग भएको छलफलमा सकारात्मकजस्तो देखिएको बताए । 'मेरो र केपी ओलीजीको झण्डै डेढ घण्टा कुरा भयो । त्यहाँ, अब सहमतिको नजिक नै पुगेका छौं, मिडियामा पनि सहमति नजिक भएको कुरा आएको छ, मैले एउटा पोलिटिकल स्टेटमेन्ट दिऔं, सहमतिको यो बिन्दुसम्म पुग्यौं, यो अब बाँकी छ भन्दा उहाँले धेरै नेगेटिभजस्तो देखाउनुभयो मेरो अगाडि चाँही,' उनले भने । दाहालले ओली र आफूबीच सहमति हुने खबर सुन्नेवित्तिकै कांग्रेसका सहमतिविरोधी नेताहरुले 'चलखेल' गरेको आरोप लगाए । 'सहमति त हुनेभयो, केही साथीहरुलाई मन परेको थिएन, सभामुखले मिलेका विषयलाई लैजाऔं भन्नुभयो, ल आफूआफू बसौं न त भन्ने कुरा भयो,' दाहालले सहमति बिग्रनुको कारण खोतले, 'पछि बस्दा त उहाँहरुले विषयलाई टि्वस्ट गरिसक्नुभएछ ।' सहमतिका लागि मैले नै रिक्स लिएको थिएँ दाहालले सोमबार दलहरुबीच सहमति नजिक पुग्नुमा आफूले नै रिक्स लिएको बताए । 'मैले २०-२५ वर्षदेखि बेलाबेलामा रिक्स लिएर निर्णय गर्ने गरेको छु । त्यस दिन पनि गाँठो फुकाउन तपाईंहरु संघीयता, समानुपातिक समावेशीमा तपाईंहरु सहमतिमा आउने हो भने शासकीय स्वरुपमा रिजर्भेसन राखेर प्रक्रिया अगाडि बढाउन दिन्छौं भनें,' उनले स्मरण गरे, 'उहाँहरुले पनि सकारात्मक हो भन्नुभयो । तर केही नेताहरु सहमति हुन नदिन सक्रिय हुनुहुन्छ ।' आफूले प्रस्ताव गरेपछि सहमति हुने अवस्था आएपछि सहमतिविरोधी नेताहरु छटपटिएको दाहालले दाबी गरे । उनले संघीयतामा सहमति भएमात्रै शासकीय स्वरुपमा फरक मत राखेर जाने सर्त रहेको बताए । संसदमा घटना हुन्छ भनेर चेतावनी दिइएको थियो दाहालले मंगलबार बिहान संसदमा आक्रमणका घटना हुने जानकारी पहिले नै गराइएको बताए । 'मैले दुई दिन सहमतिका लागि समय दिनुस् भन्दा मान्नुभएन,' उनले स्मरण गरे, 'चारपक्षीय बैठकमै विजयकुमार गच्छदारजीले दुई घण्टापछि के हुन्छ हेर्नुहोला भन्नुभएको थियो । बाबुरामजीले महाभारत कुरा गर्नु भएकै थियो । प्रष्ट थियो । कुनै कुरा लुकिछिपी भएको थिएन । तर, योजना चाँही तोडफोड गर्ने थिएन । प्रक्रिया रोक्नुपर्छ भन्नेमात्रै थियो ।' प्रश्नावली समिति बनाउने प्रस्ताव कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ हतार हतार रोष्टममा गएपछि स्थिति अर्कै भएको दाहालले बताए । 'चीनकाजी श्रेष्ठ हत्तपत्त मञ्चमा गएपछि अब प्रक्रिया लग्ने भयो भन्ने हाम्रा माननीय सदस्यहरुलाई पर्न गयो,' उनले भने, 'त्यसपछि सबै परिस्थिति बिग्रेको हो ।' सभाध्यक्षले बैठक स्थगित गरेपछि पनि कुर्सी तोड्ने घटना हुनु भने दुःखद भएको उनले बताए । दाहालले सत्ता र कुर्सीका लागि अहिले एमाओवादीले गतिरोध गरेको भन्ने भ्रममा नपर्न आग्रह गरे । दाहालले आफू र बाबुराम भट्टराईमाथि नै बिजुलीबजारमा आक्रमणको प्रयास भएको उल्लेख गर्दै भन्, 'प्रचण्ड-बाबुराममाथि नै रोक्ने पनि छन् केही पत्रकारमाथि भयो भने धेरै अन्यथा नठान्नुहोला ।'





प्रतिक्रिया दिनुहोस्...