आगामी १० दिनमा मुलुकमा चमत्कार हुन्छ : गौतम


काठमाडौँ, १२ माघ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले मुलुकमा दिगो शान्ति स्थापनाका लागि संविधान निर्माण हुन आवश्यक रहेको बताएका छन् । प्रथम सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्ण मोहन श्रेष्ठ तथा उनकी धर्मपत्नी नुडुप श्रेष्ठको बाह्रौँ श्रद्धाञ्जलिसभामा बोल्दै उनले आम जनताले सोचेअनुरुपको संविधान आउने भन्दै संविधान निर्माण प्रक्रिया तीव्ररुपमा अघि बढिरहेको उल्लेख गरे । संविधान लेखन प्रक्रियामा विभिन्न अवरोध आइरहेको भए तापनि आगामी १० दिनभित्र मुलुकले केही नयाँ पनको आभास गर्न पाउने मन्त्री गौतमको भनाइ थियो । उनले मुलुकमा जातीय राज्य खडा गरेमा देश द्वन्द्वकालमा धकेलिने भन्दै सबै जनता र समुदायलाई समेट्ने खालको राज्यको पुनःसंरचना गरिनुपर्नेमा जोड दिए । कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मानसमेत गरियो । कृष्णमोहन–नुडुप शान्ति पुरस्कारबाट निर्वाचन आयुक्त इला शर्मा, साहित्यिक स्रष्टा शान्ति पुरस्कारबाट साहित्यकार विश्वविमन श्रेष्ठ सम्मानित भए। त्यसैगरी सशस्त्र प्रहरी बल एपिएफका प्रहरी नायब निरीक्षक रामहरि रिमाल र नेपाल प्रहरीकी नायब निरीक्षक विष्णुकुमारी गुरुङ उत्कृष्ट कार्यसम्पादन पुरस्कारबाट सम्मानित भए । सम्मानित हुनेले सम्मान स्वरुप जनही रु १० हजार प्राप्त गरे । जाउलाखेलस्थित श्री भृकुटी महिन्द्र माविका छात्र सन्तोष पाण्डे र छात्रा मुना विश्वकर्मालाई छात्रवृतिस्वरुप जनही रु छ हजार प्रदान गरियो । कार्यक्रममा स्व कृष्णमोहन र नुडुप श्रेष्ठको सालिकमा मन्त्री गौतम, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, एपिएफका महानिरीक्षक कोषराज वन्तलगायतका वरिष्ठ पदाधिकारीहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए । विसं २०५९ माघ १२ गते अङ्ग रक्षक सूर्य रेग्मीसहित कृष्णमोहन श्रेष्ठ र श्रीमती नुडुप बिहान मर्निङ वाकमा जाँदा तत्कालीन विद्रोही माओवादीबाट मारिएका थिए । रासस




प्रतिक्रिया दिनुहोस्...