भाइका हत्यारा पुजारीको भेषमा मन्दिरमा भेटिए


फोटो :फाइल फोटो
अर्घाखाँची : आफ्नो पाप पखाल्न अपराधीले अनेक रुप धारण गर्न पछि पर्दा रहेनछन् । भाइको ज्यान लिएका एक व्यक्ति कानुको आँखा छल्न मानिसहरुको पवित्रस्थल मन्दिरको पुजारी बनेको भेटिएको छ ।  
 
आफ्नो वास्तविक नाम परिवर्तन गरी गुल्मी रिडीको हृषिकेशव मन्दिरमा पुजारीको भेषमा लुकेर बस्दै आएका सन्धिखर्क नगरपालिका–१३ धरम्पानीका ७१ वर्षीय कृष्णप्रसाद मरासिनीलाई  सहोदर भाइको हत्या अभियोगमा प्रहरीले ३७ वर्षपछि आइतबार पक्राउ गरेको हो । 
 
आफ्नो अपराध लुकाउन मानिस धर्म संस्कृतिको आडमा समेत लुकेर बस्ने कुराको पुष्टि यो घटनाले गरेको छ । 

३४ वर्षअघि भाइको हत्या गरेर फरार उनी रिडीस्थित हृषिकेशष मन्दिरमा पुजारीको भेष्मा बस्दै आएको अवस्थामा मरासिनीलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसीले बताए ।   

अपराधीहरु सधैं लुक्न नसक्ने यो घटनाले देखाएको छ । अर्घाखाँची जिल्ला अदालतले २० वर्ष जेल सजाय सुनाएका उनलाई पक्राउ गरेपछि जिल्ला कारागार कार्यालयमा चलान गरिएको छ । 

२०३७ साउनमा तत्कालिन अर्घा गाविस–६ हालको सन्धिखर्क नगरपालिका– १३ निवासी भाइ टुल्कप्रसाद मरासिनीको हत्या गरेपछि उनी फरार थिए । जिल्ला अदालत अर्घाखाँचीले २०४७ जेठ ३१ गते भाइ मारेको प्रमाणित गर्दै उनलाई २० वर्ष जेल सजाय सुनाएको थियो ।

५ वर्षअघिदेखि रिडीको हृषिकेश मन्दिरमा केशवराज शर्माका नाम चिनाउँदै पुजारीको भेष लिएका मरासिनीलाई विशेष अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक युराज तिमिल्सिनाले बताए । 

भाइको हत्या गरेपछि उनी भारतका विभिन्न स्थानमा लुक्दै आएका थिए ।  हत्याको जाहेरी दिने उनकी भाइबुहारी मनकला मरासिनीको पनि मृत्यु भएपछि उनी रिडीमा आएर नाम परिवर्तन  गरी पुजारी बनेको प्रहरी निरीक्षक तिमिल्सिनाको भनाइ छ । 

घरायसी झगडका क्रममा कृष्णले २०३७ सालमा लाठीले हानेर भाइको हत्या गरेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसीको भनाइ छ । अदालतले २० वर्षको जेल सजाय सुनाएकाले उनी वि.सं. २०९१ सम्म जेलमै रहने छन् । 

यता गुल्मीको रिडीस्थित हृषिकेश मन्दिरका अध्यक्ष दुर्गादत्त रेग्मीले मन्दिरमा अर्गलीका भट्टराई परिवारमात्र पुजारी रहने ब्यवस्था गत ५ सय वर्षदेखि चलिरहेको र मरासिनी थरका कोही व्यक्ति पुजारी नरहेको बताए । 






प्रतिक्रिया दिनुहोस्...