ल्याटिन अमेरिकामा नेपाली अलपत्र


कोस्टारिकामा पक्राउ परेका नेपाली। तस्बिर : एजेन्सी

काठमाडौं-ल्याटिन अमेरिकी मुलुकमा पक्राउ परेका नेपालीको ठेगाना नखुल्दा परराष्ट्र मन्त्रालयलाई उद्धार प्रक्रिया थाल्न अप्ठेरो परेको हुने गरेको छ। ल्याटिन अमेरिकी मुलुकले त्यहाँ नेपाली पक्राउ परेको जानकारी दिँदै उद्धारका लागि पहल गर्न सरकारलाई पत्र पठाए पनि ठेगाना खुलाउने गरेका छैनन्। ठेगाना नहुँदा उनीहरूको परिवारलाई जानकारी दिन र उद्धार गरी नेपाल फर्काउन समस्या भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘नेपाली पक्राउ परे उद्धार गर भनी नाम मात्र उल्लेख गरिएको पत्र आउँछ, अरू विवरण नखुल्दा हामीले केही गर्न सकेका छैनौं,' परराष्ट्र मन्त्रालय कन्सुलर विभागका कार्यवाहक प्रमुख दीपक अधिकारीले नागरिकसँग भने, ‘उनीहरूको ठेगाना र परिवार पत्ता लागे मात्र उद्दार गर्न सकिन्छ। नाम मात्र आएपछि परिवार खोज्न कहाँ जाने? फोटो, राहदानी, नागरिकता लिएर परिवारका सदस्य आए उद्धारको पहल गर्न सहज हुन्थ्यो।'
पछिल्लो पटक ल्याटिन अमेरिकी राष्ट्र पानामाले पाँच नेपाली पक्राउ परेको जनाउँ दिँदै उद्धारका लागि पहल गर्न सरकारलाई अनुरोध गरेको छ। पानामामा पक्राउ परेका नेपालीको सूचीमा सुशील थापा, मणि बोहरा, देव खत्री, होमबहादुर केसी र अमन थापा छन्। उनीहरूको नामबाहेक परिचय खुल्ने अरू कुनै शब्द पत्रमा समावेस छैन। अन्य ल्याटिन अमेरिकी राष्ट्रले पठाउने पक्राउ परेकाको सूची पनि यस्तै हुने गरेको छ।
ल्याटिन अमेरिकी राष्ट्रले भारतको दिल्लीमा रहेका आफ्ना दूतावासमार्फत त्यहीँ रहेको नेपाली दूतावासलाई पत्र पठाई पक्राउ परेका नेपालीबारे जानकारी गराउँछन्। मानव तस्करको प्रलोभनमा परी अमेरिका जाने क्रममा ल्याटिन अमेरिकी राष्ट्रमा पक्राउ पर्ने नेपालीको संख्या ह्वात्तै बढेपछि ती देशले यस्तो जानकारी नेपाललाई गराउन थालेका हुन्।
तथ्यांकअनुसार सबैभन्दा बढी नेपाली ल्याटिन अमेरिकी राष्ट्र ब्राजिल, पानामा, कोलम्बिया, ग्वाटेमाला, कोस्टारिकामा पक्राउ पर्ने गरेका छन्। उत्तर अमेरिकी राष्ट्र मेक्सिकोमा पनि अत्यधिक मात्रामा नेपाली पक्राउ पर्न थालेका छन्। ‘धेरै नेपाली पक्राउ पर्दा ठूलो समस्या आएको छ। साधनस्रोतले भ्याएसम्म हामी अलपत्र परेकै ठाउँबाट उद्धार गर्छौं,' परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले भने।
सबैभन्दा बढी नेपाली कोस्टारिकामा पक्राउ परेका छन्। कोस्टारिकाको ‘पब्लिक सेक्युरिटी मिनिस्ट्री' ले सन् २०१४ को प्रतिवेदनमा एक वर्षमा २ सय ५० भन्दा बढी नेपाली पक्राउ परेको उल्लेख गरेको छ। सन् २०१४ को सेप्टेम्बरमा मात्र ८९ जना नेपाली कोस्टारिकामा पक्राउ परेका थिए भने डिसेम्बरमा १९ जना। सेप्टेम्बरमा तीन दिनमै ३४ नेपाली पक्राउ परेका थिए। पक्राउ पर्ने नेपालीको संख्या सन् २०१३ का तुलनामा २०१४ मा ३ सय ८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१४ मा पानामा पनि ठूलो संख्यामा नेपाली पक्राउ परेका थिए। पानामाको अध्यागमन कार्यालयको तथ्यांकअनुसार गत वर्ष मात्र त्यहाँ अमेरिका जान भनी तस्करका साथमा पुगेका ६० जनाभन्दा बढी नेपाली पक्राउ परेका थिए। जबकि, अघिल्लो वर्ष पानामा पक्राउ पर्ने नेपालीको संख्या १९ रहेको थियो। सन् २०१० मा २९ जना अमेरिका हिँडेका नेपाली पानामा पक्राउ परेका थिए। कोलम्बियामा पनि एकै दिन १३ नेपाली पक्राउ परेका थिए।
पक्राउ पर्ने सबैसँग साथमा परिचय खुल्ने कुनै कागजात हुँदैन। तस्करहरूले बीचबाटोमै उनीहरूलाई परिचय खुल्ने कागजात च्यातेर फाल्न लगाउँछन्। तस्करहरूले नेपालीलाई काठमाडौंबाट भारतको नयाँ दिल्ली, थाइल्यान्ड, भियतनाम, कतार वा युनाइटेड अरब इमिरेट्स, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका अवैध तरिकाले छिराउने गर्छन्।
‘ल्याटिन अमेरिकी राष्ट्रमा भाषाको समस्या भएर पनि होला, त्यहाँ पक्राउ पर्नेको सूची पठाउँदा नाम मात्र उल्लेख हुन्छ। पक्राउ परेकासँग परिचय खुल्ने कुनै वैधानिक कागजात फेला नपरेर पनि उनीहरूले नाम मात्र पठाएको हुन सक्छ,' पोखरेलले भने।

पक्राउ परेकाको उद्धार हुँदैन
ल्याटिन अमेरिकी राष्ट्रले पक्राउ परेकाको नाम पठाएर उद्धारका लागि आग्रह गरे पनि सरकारले उनीहरूलाई उद्धार गरेर नेपाल ल्याउने गरेको छैन।
परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ परेकाको आफन्त पत्ता लाग्न नसक्नु उद्धार हुन नसक्नुको पहिलो कारण हो। नामका आधारमा मात्र उनीहरूको आफन्त पत्ता लाउन नसकिने भएकाले उनीहरूलाई नेपाल ल्याउँदाको खर्च कसले बेहोर्ने भन्ने दोस्रो कारणमा पर्छ।
ल्याटिन अमेरिकी राष्ट्रबाट एक जनालाई मात्र पनि उद्धार गरी ल्याउँदा लाखौं रुपैयाँ खर्च लाग्ने गर्छ, जुन बेहोर्ने आँट अहिलेसम्म सरकारले गरेको छैन। ठूलो रकम खर्चेर अवैध तरिकाले जानेलाई सरकारी खर्चमा उद्धार गर्दा यसरी अमेरिका जानेको संख्या झन् बढ्न सक्ने भएकाले पनि यस्तालाई बेवास्ता गर्ने गरिएको छ।
कहाँ जान्छन् त पक्राउ परेकाहरू?
सरकारले उद्धार गर्न चाहे पनि पक्राउ परेका नेपाली त्यहीँबाट स्वदेश फर्कन मान्दैनन्।
गत सेप्टेम्बरमा तीन दिनका बीचमा ३४ नेपाली कोस्टारिकामा पक्राउ परेपछि परराष्ट्रले उनीहरूलाई स्वदेश फर्काउन पहल गरेको थियो। त्यहाँ रहेका आफ्नो अवैतनिक वाणिज्यदूतमार्फत उनीहरूलाई जेलबाट छुटाइयो, तर उनीहरू नेपाल फर्केनन्। जेलबाट छुट्नेबित्तिकै उनीहरू फेरि तस्करको सम्पर्कमा पुगे र अमेरिकातर्फ अघि बढे।
पक्राउ परेका प्रायलाई त्यहाँको सरकारले एक साताभित्र त्यो देशको सीमा काट्नू भन्ने व्यहोराको पत्र थमाई जेलमुक्त गर्छ। यसले झन् तस्करलाई सहज बनाइदिएको छ। तस्करले एक सातामा उनीहरूलाई अर्को देश पुर्या्उँछ र फेरि सुरु हुन्छ अमेरिका यात्रा। ल्याटिन अमेरिकी राष्ट्रसम्म पुग्दा लाखांै रकम खर्च भइसक्ने हुँदा पक्राउ परे पनि छुट्नेबित्तिकै उनीहरू नेपाल नफर्की अमेरिकातर्फ नै जाने गर्छन्।




प्रतिक्रिया दिनुहोस्...