राष्ट्रपतिले सभामुखसँगको भेटमा भनेः‘एमाओवादीले घोषणा गरेको कुरामा विश्वास छैन’


काठमाडौं, माघ १५ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आज राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर संविधान लेखनमा देखिएको जटिलता र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवास पुगेर सभाध्यक्ष नेम्वाङले माघ ८ मा संविधान जारी नभएपछिको घटनाक्रम र माघ ११ गते प्रश्नावली समिति गठन गरेपछिकोअवस्थाबारे राष्ट्रपति यादवलाई जानकारी गराएका हुन् ।
त्यसक्रममा सभाध्यक्ष नेम्वाङले सहमतिका लागि अधिकतम् प्रयास गरेपनि सफल नभएपछि विधिसम्मत् ढंगले प्रश्नावली समिति गठन गरिएको जानकारी गराएका थिए ।
उनले आफुले दलहरुलाई पटक पटक सहमतिका लागि आग्रह गरेको भन्दै अझै पनि सहमतिका लागि हदैसम्मको प्रयास गर्नुपर्नेमा जोड दिएको जानकारी दिए ।
सभाध्यक्ष नेम्वाङले आफुसँगको भेटमा राष्ट्रपति यादवले संविधान जारी गर्नका लागि संविधानसभाले गरिरहेको प्रयासबारे खुशी ब्यक्त गरेको जानकारी पनि दिए ।
उनले राष्ट्रपति यादवले सहमतिबाटै संविधान जारी होस् भनेर शुभेच्छा ब्यक्त गरेको पनि बताए ।
सभाध्यक्ष नेम्वाङले एकीकृत माओवादी सहितका दलहरुले आफुले डाकेको बैठकमा नबस्ने घोषणा गरेको भन्ने कुरामा विश्वास नरहेको समेत बताए ।
उनले तत्काल संवादको माध्यमबाट गतिरोधको निकास खोज्न पनि दलहरुलाई आग्रह गरे ।






प्रतिक्रिया दिनुहोस्...