किन साँढे बन्दैछन् ओली ?


 राजनीति सिधा बाटो भएर अगाडि बढ्दैन । बाङगोटिङगो र घुमारो मोडबाट अगाडि बढ्छ । तर राजनीतिमा राजनीतिक दलका उदेश्य र लक्ष्य फरक भएपनि गन्तव्य एउटै हुन्छ । पार्टीको मुल्य मान्यता आदर्श भन्दा पनि राष्ट्र र राष्ट्रियताको सबालमा सबै एक ढिक्का हुने गरेका छन् । राजनीतिमा सबैको आ–आफ्नै स्वार्थ हुन्छ । जब नेतृत्वमा स्वार्थको अहंकार पलाउँछ, तब बाटो बाङगोटिङगो मात्र होइन दुर्घटना समेत हुने गर्छ । गाडिमा सह– चालकलाई जति छुट हुन्छ ड्राईभरलाई त्यो छुट हुँदैन ।


 किनकी धेरैको जिन्दगी एउटा ड्राइभरको हातमा हुन्छ । उसले थोरै गल्ती गर्दा जे पनि हुन सक्छ । ड्राइभरको एक सेकेन्डको तलमाथिले दुर्घटना हुने गरेको छ । अहिले नेपालका राजनीतिक ड्राइभरमाहरुमा मनोमानीले सीमा नाधेको छ । गन्तव्यमा पुग्ने बाटोको ट्रयाक नै तयार नभई लहरी चलाउने होड चलेको छ । लामो बाटोको यात्रा गर्दा अपनाउनु पर्ने दुरदर्शिता नदेख्दा गाडी गतव्यतमा पुग्नेमै आशंका जन्माएको छ । गतव्यमा पुग्नको लागि विना तयारी गाडी लैजाने निर्णय गर्ने भन्दा महामूर्खहरु को हुन सक्छ ? यो सरासर दुर्घटना गराउने खेल हो । जुन निर्णयमा जवाफदेहीता देखिदैन ।

राजनीतिमा कित्ताकाट
राजनीतिमा भूल र महाभूल हुँदै आएका छन् । भूल सच्याउन सकिने भएपनि महाभूलको कारण देशले ठूलठूलो परिणाम भोग्दै आएको छ । राजनीतिक नेताहरुको उरन्ठेउला बुद्धीको कारणले गर्दा नेपालको ६० बर्षे राजनीतिक यात्रा सुखद हुन सकेको छैन् । जनताको बलिदानीबाट प्राप्त प्रजातन्त्र जोगाउन नसक्नु, बहुदलिय व्यवस्था दिगो बनाउन नसक्नु नेताहरुको अदुरदर्शिता हो । अपठ्यारो पर्दा एकै ठाउँमा आइपुग्ने राजनीतिक दलहरु जब सहज परिस्थिति बन्छ तब आफ्नो स्वार्थमा लिप्त हुने गरेका छन् । ०६२÷०६३ सालको जनआन्दोलनपछि जुन आशा र उत्साह छाएको थियो । त्यो आशा र अपेक्षाको विरुवा हुर्कन नपाउँदै गणतन्त्र संस्थागत हुन नपाउँदै पुनः राजनीतिक दलहरुबीच कित्ता काट भएको छ । परिवर्तन संस्थागत नहुँदै देखिएको यो दृष्यले फेरी पनि नेपालीले देखको सपनाको हत्या हुने हो कि भन्ने पिरलो थपिएको छ ।

सरापेर देश बन्दैन
राजनीतिक दलहरुबीच सभाध्यक्ष सुवास नेम्वाङले अगाडि सारेको बहुमतिय प्रक्रियाले गर्दा दुरी बढेको छ । कित्ताकाट चलेको छ । आरोप प्रत्यारोपको सीमा नै छैन । वार्ता र छलफल अबरुद्ध छ । सत्ता पक्ष कांग्रेस–एमाले र प्रतिपक्ष एमाओवादी र मधेसवादी मोर्चा दुवैले वार्तामा नबस्ने निर्णय गरेका छन् । एमाले अध्यक्ष ओली जिम्मेवार हुनुपर्ने ठाउँमा सत्तोसराप गरेरै हिडेका छन् । राजनीतिमा विवाद हुन्छ । त्यो सँगै संवाद हुन्छ । तर दुवै पक्षले वार्ता र संवादको ढोका बन्द गरेर आ–आफ्नो तयारीमा लागेका छन् । बहुमतको बलमा कांग्रेस–एमालेले संविधानसभाबाटै संविधान जारी गर्ने बाटो खुलेपछि आफ्नो जित भएको भन्दै विजय जुलुस मनाएको छ भने एमाओवादीले समाध्यक्षको पुत्ला दहन गरेको छ । वार्ता र छलफल नै नगरी एकले अर्कोलाई सतोसराप गरेर देश बन्दैन । यो त एकैचोटी धनी हुने सपनाले आफ्नै घरमा आगो झोस्नु जस्तै कदम हो । असमति हुन्छन । असमति भयो भन्दैमा बहुमतको दम्भ देखाउनु पनि राजनीतिक बेमानी नै हो । सबैले आफ्नो दायित्व र कर्तव्य भुल्नु हुँदैन ।

ओलीको मुडे बल
अहिलेको राजनीतिक गत्यावरोधको प्रमुख खेलाडी एमाले अध्यक्ष केपी ओली देखिएका छन् । जो चर्चामा छन् । जसको कारणले सहमतिको बाटो बन्द भएर बहुमतिय प्रक्रियाको सुरु भएको छ । उनले आफू बाहेक कसैलाई पनि मान्छे गन्दैनन । किनकी उनी एमालेका अध्यक्ष हुन् र संविधानसभा निर्वाचनपछि दोस्रो पार्टी हुन् । पार्टीको अध्यक्ष हुनु अघि उनमा जुन उरन्ठेलोपना थियो पार्टी अध्यक्ष भएपछि त्यो हटछ भन्ने आशा धेरैले गरेका थिए तर सानैदेखि लागेको बानी किन छुटथ्यो ? सहमति र प्रक्रियाको भुठभेडबाट ओलीको जित भएको छ । जित हुनुमा रेफ्री सभाध्यक्षले नै गोल हानिदिएपछि ओली निकै खुसी नहुने कुरा नै भएन । खेलमा रेफ्री नै आफ्नो जिम्मेवारी तटस्थता र निष्पक्षतालाई लत्याएपछि कसको को लाग्दो रहेछ र ? खेलमा आशा सबैले रेफ्रीसँग गरेका हुन्छन । खेलमा निर्णायक भनेको नै रेफ्री हो । जब उ नै स्वार्थको चङगुलमा फस्छ त्यसपछि खेल खेल्नु नखेल्नुको कुनै अर्थ र औचित्य हुन्छ र ? ओलीको दम्भमा सभाध्यक्षले साथ दिएका छन् । यो उनको हार हो कि जित इतिहासले समिक्षा गर्ने छ । ओलीकै कारण अहिले वार्ता र संवाद रोकिएको छ । यो उनको मुढे वल हो । इतिहासमा ओली जस्ता पात्रको जन्म नभएको होइन, भएको छ र त्यस्तै इतिहास लेखिएको छ । यस्तो अदुरदर्शिताकै कारण देशले पाउनुसम्मको सास्ती पाएको छ ।

सूर्य बहादुरले ओलीको हप्पी खाए
दलहरुबीच सहमतिको लागि भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका राप्रपाका वरिष्ठ नेता सूर्य बहादुर थापाले अभियान चलाए । प्रचण्डलाई सम्झाएर सूर्य बहादुर थापा ओली निवास बोलकोटमा पुगे । भेटघाटपछि सूर्य बहादुर थापाले ओलीजी मूलुकलाई द्धन्द्धमा जान दिन हुँदैन । यसले हित गर्दैन । तपाई दास्रो पार्टीका अध्यक्ष तपाईले चाहनुभयो भने सहमति हुन सक्छ भनेर सम्झाए । ओलीले सुने मात्र । त्यति भनेपछि ओलीले तपाईको कुरा सकियो होइन भन्दै थापालाई यस्तो जवाफ दिए,‘बुढेसकालमा किन दुःख पाउनु हुन्छ घर गएर सुत्नुहोस ।’ थापा नाजवाफ भएर बालकोटबाट बाहिरिए ।

राष्ट्रपतिले भनेको टेरपुच्छर लाएनन्
कांग्रेस–एमाले पेलेर जाने मनस्थितिमा पुगेपछि संविधानसभाको बैठक बस्नु अघि राष्ट्रपति डा. रामवरण यादवले शीर्ष नेताहरुलाई बोलाएर अवस्था विग्रन दिन हुँदैन भन्दै सम्झाउन खोजे । केही दिन रोक्नुहोस सहमति र सहकार्य गरेर अगाडि बढ्नुहोस् । सबै मिलेर अगाडि बढ्नुहोस म पहल गर्छु भन्दा पनि ओलीले अब प्रक्रियाबाट छिनोफानो हुने जवाफ दिए । राष्ट्रपतिको आग्रहमा कांग्रेसले केही चलकता देखाएपनि ओलीले सहमति हुनै नसक्ने तर्क प्रस्तुत गर्दै प्रक्रियामै जाने भन्दै बाहिरिए । त्यसको त राष्ट्रपतिले सभाध्यक्ष नेम्वाङलाई समेत आग्रह गर्दा समेत ओलीको दबाब खेप्न नसकेर ठाडो प्रस्ताव संविधानसभामा पेश गर्ने अवस्थामा पुगे । यस बीचमा ओलीले कसैलाई पनि मान्छे हो भन्ने व्यवहार प्रदर्शन गर्न सकेका यस बीचमा ओलीले कसैलाई पनि मान्छे हो भन्ने व्यवहार प्रदर्शन गर्न सकेका छैनन । ओलीकै मुढे बलमा नेपालको राजनीतिकले कस्तो मोड लिने हो त्यो समयले बताउँदै जाला ।





प्रतिक्रिया दिनुहोस्...