भीमफेदीमा सुमो पल्टिँदा पाँचको ज्यान गयो, सात घाइते


फोटो :हेटौडा अस्‍पतालमा घाइतेको उपचार गरिदै। हेटौंडा: काठमाडौंबाट हेटौंडा आउँदै गरेको टाटासुमो भीमफेदी ८ जुरिखेतमा शुक्रबार अपरान्ह ४ बजे दुर्घटना हुँदा एक बालकसहित पॉच जनाको ज्यान गएको छ। ना१ज ४२७५ नम्बरको सुनौलो ताम्सालिङ सुमो सडकबाट करिब एक सय २५ मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनामा हेटौंडा-६ चौघडाका ३० बर्षीय नीराजन चौलागाई, कैलाली जिल्लाको सहनपुर-५का डम्बर राउत, मकवानपुरको छतिवनका ३५ बर्षीय योगेन्द्र घलान, ८ बर्षीया प्रतिमा घलानको घटनास्थलमा र छतिवनका २३ वर्षीय सुमन राईको उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता डिएसपी दीपक थापाले बताए। ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक अशोककुमार झाको टोलीले दुर्घटनामा घाईते ८ जनाको उद्दार गरी हेटौंडा अस्पताल ल्याएका थिए। दुर्घटनामा मकवानपुरको छतिवन बस्ने २३ बर्षीया सृजना घलान, छतिवनकी ३२ बर्षीया ईश्वरी माझी र २४ बर्षीया अञ्जु स्याङतान, ललितपुरका १० बर्षीय धावा लामा, पदमपोखरीका ३० बर्षीय नवराज थिङ, चितवनका २१ बर्षीया बर्षा रानामगर र एक जना पुरुषको नाम खुल्न नसकेको प्रहरी प्रवक्ता थापाले बताए। घाईतेको हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाईएको हेटौंडा अस्पतालले जनाएको छ। घाईतेमध्य ५ जनाको अवस्था गंभीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। दुर्घटनाको खबर आएपछि हेटौंडा अस्पतालमा घाईते तथा मृतकका आफन्तहरुको भीड लागेको थियो। साँघुरो सडकमा तीब्र गतिमा सुमो चलाएका कारण भीमफेदी-कुलेखानी-सिस्नेरी-फर्पिङ सडकमा गंभीर दुर्घटना हुने गरेको प्रहरीले बताएको छ। सुमो दुर्घटनाको समाचार आएपछि सबैलाई यो सडक जोखिमपूर्ण छ भनने लाग्छ तर, केही दिनमा घटना सेलाउँदै जाने गरेको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको र सुमोका चालक गंभीर घाईते भएका कारण थप जानकारी नभएको प्रहरी प्रबक्ता थापाले बताए ।




प्रतिक्रिया दिनुहोस्...