विश्वकीर्तिमान राख्दै नेपाली महिला आरोही फर्किए
काठमाडौं- सात महादेशका सात उच्च शिखर आरोहण गरी विश्वकै पहिलो महिला समावेशी आरोही दलको कीर्तिमान कायम गरेका सात नेपाली आरोही काठमाडौं फर्किएका छन्। 'समावेशी महिला आरोही' दलले हालै अन्टार्कटिकाको उच्च शिखर भिन्सन म्यासिफ आरोहण गरेका थिए।
यो हिमालको सफल आरोहणपछि उनीहरूको दल सात महादेशका सात उच्च शिखर आरोहण गर्ने विश्वकै पहिलो महिला आरोहण दल बनेको हो। यो दलले सन् २००८ मा सर्वोच्च शिखर सगरमाथाबाट आरोहण यात्रा सुरु गरेको थियो। ६ वर्षअघि सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेपछि उनीहरूले सात महादेशका सात उच्च शिखर पुग्ने लक्ष्य लिएका थिए। लक्ष्य पछ्याउँदै जाँदा उनीहरूले अस्ट्रेलियाको माउन्ट कोस्किअस्ज्को, युरोपको माउन्ट एल्ब्रस, अफ्रिकाको किलिमन्जरो, दक्षिण अमेरिकाको माउन्ट एकोन्कागुआ र उत्तर अमेरिकाको माउन्ट डेनाली आरोहण गरेका थिए। आरोही शैली बस्नेतको संयोजनमा 'सेभेन समिट्स उमन टिम' नामको आरोहण दलमा उनीसहित माया गुरुङ, पूजन आचार्य, आशाकुमारी सिंह, चुनु श्रेष्ठ, निम्डोमा शेर्पा र पेमाडिकी शेर्पा छन्। उनीहरूको दललाई सरकारदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रि संघसंस्थाले सहयोग गरेका थिए।