छात्रले बनाए हवाइजहाज


cartoon_planeधनगढी। कम्प्युटर इन्जिनियर अध्ययन गरिरहेका धनगढीका योगेश ओझाले हवाइजहाज निर्माण गरेका छन् ।
‘पाईथन प्रोग्रामिङ्ग लेङ्गोइज‘ नामको प्रविधिको प्रयोग गरी तयार पारिएको उक्त मानवरहित जहाजलाई बुधबार स्थानीय ऐश्यर्य विद्या निकेतन उच्च माविको प्राङ्गणमा आयोजित समारोहमा आकासमा उडाएर प्रदर्शन गरिएको छ ।
‘कार्बन फाइबर’ प्रयोग गरी निर्माण गरिएको जहाज निर्माणमा करिब रु ८० हजार खर्च भएको हाल भारतको बङ्लोरमा अध्ययन गरिरहेका छात्र ओझाले बताउनुभयो ।
“अहिले रिमोट कन्ट्रोलको सहायतामा मानवरहित जहाज उडाए” १७ वर्षीय ओझाले भन्नुभयो “भविश्यमा मानवसहितको जहाज उडाउने प्रयासमा छु ।”
कक्षा ११ मा अध्ययन गर्दा अमेरिकाको कम्प्युटर निर्माण कम्पनी गिक्लिस्टबाट पुरस्कृत ओझाले काठमाडौँमा एक वर्षअघि भएको ‘ह्याकाथन’ प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेका थिए । यो प्रतियोगितामा ४८ घन्टाभित्र नयाँ प्रविधि प्रदर्शन गर्नुपर्ने प्रावधान राखिएकामा ओझाले सरसफाइ अभियानसम्बन्धी नयाँ प्रविधि प्रदर्शन गरेका थिए ।
बुधबार धनगढीको आकासमा उडाइएको जहाज एक हजार फिट माथिसम्म पुगेको थियो । घरमा आफैँ बनाइएको जहाज आकासमा उडेको दृश्य देख्दा विद्यालयका छात्रछात्रा, शिक्षक र स्थानीय सर्वसाधारण आश्चर्यमा परेका थिए ।
धनगढीमा नेपालकै पहिलो एयरक्राप्ट्स म्युजियम (हवाइजहाज सङ्ग्रहालय) सञ्चालक क्याप्टेन बेद उप्रेतीले जहाज उडाउने कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
ऐश्वर्य विद्या निकेतनका पूर्व विद्यार्थीसमेत रहेका ओझाले बनाएको जहाज अमेरिकामा हालै आविस्कार गरिएको द्रौण प्रणाली(पाइलटरहित) जहाज रहेको र यो कार्गो बोक्ने मोडेलको रहेको क्या उप्रेतीले बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्...