पाँच नेपालीलाई मृत्युदण्ड


काठमाडौं : इन्डोनेसियाले त्यहाँ रहेका पाँच नेपाली बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

विश्वभरका मानवअधिकार संस्थाहरूले इन्डोनेसियाली सरकारलाई मृत्युदण्डको सजाय कार्यान्वयन नगर्न अपिल गरेका छन् भने नेपाल सरकारले भने यसबारे थाहा नभएको उल्लेख गरेको छ।


पाँचजना नेपालीहरूलाई मृत्युदण्डको फैसला सुनाएको इन्डोनेसियाले आइतबार ब्राजिल, मलावी, नाइजेरिया, नेदरल्यान्ड्स र भियतनामका एकएकजना तथा आफ्नै एक नागरिकलाई लागूऔषध ओसारपसार अभियोगमा मृत्युदण्ड दिइसकेको छ। आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको विरोधमा ब्राजिल र नेदरल्यान्ड्सले इन्डोनेसियाबाट राजदूत फिर्ता बोलाएका छन्।

इन्डोनेसियाको कमिसन फर डिसापियर एन्ड भिक्टिम्म्स अफ भायोलेन्सबाट मानवअधिकारकर्मी सुबोध प्याकुरेललाई पठाइएको इमेलमा यी नेपालीहरूको नाम उल्लेख छ। 'पाँचजना नेपालीलाई त्यहाँ मृत्युदण्ड दिइएको थाहा भएको छ,' प्याकुरेलले भने।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्ना नागरिकको जीवनरक्षाकालागि यथाशीघ्र कूटनीतिक पहल गर्न सरकारसँग मागगरेको छ। संस्थाद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा नेपालले मृत्युदण्ड उन्मूलन घोषणामा हस्ताक्षर गरेकाले योसरकारको नैतिक दायित्वसमेत भएको उल्लेख छ। 

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भने लागूऔषधका कारण मुलुकमा संकटकाल घोषणा गर्नुपर्ने अवस्थामा पुगेको भन्दै सजाय नरोकिने बताएका छन्।

इन्डोनेसियासमेत हेर्ने जिम्मा पाएका मलेसियाली दूतावासका अधिकारीहरूले भने नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको जनकारी नभएको बताएका छन्। परराष्ट्र मन्त्रालयका कार्यवाहक प्रवक्ता लेखनाथ भट्टराईले यसबारे दूतावासबाट कुनै जानकारी प्राप्त नभएको बताए।





प्रतिक्रिया दिनुहोस्...