घाइते भन्छन्, ‘डिएसपीले प्रचण्ड–बाबुरामको दलाललाई ठोक भने
काठमाडौं, फागुन १६– ३० दलीय मोर्चाले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा करिब १०० जना भन्दा बढि कार्यकर्ता घाइते भएका छन् । ३० दलले खुल्लामञ्चमा गरेको सभामा भाग लिन तीनकुनेबाट शुरु भएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा आएको जुलुसलाई प्रहरीले संसद भवन अगाडि अवरोध गरेको थियो । एमाओवादी कार्यर्ताहरुले नाराबाजी नगरिकन अगाडि बढ्छौं भन्दा पनि प्रहरीले विरोध गरेको भक्तपुर बस्ने रमेश पन्तले रातोपाटीलाई जानकारी दिए । प्रहरीको अवरोधबाट एमाओवादी कार्यकर्ताहरु करिब १०० जनाभन्दा बढि घाइते भएको एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले बताए । घाइते हुनेहरुमा जयनारायण महत्तो सिरहा, गोलबजार स्थायी घर भई भक्तपुर ठिमी बस्ने जयनारायण महत्तोलाई पुलिसले एक्कासी आएर टाउकोमा लाठी चार्ज गर्दा उनी त्यही ढलेका थिए । उनी त्यहाँ ढलेपछि उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । उनको टाउकामा चार वटा टाँका मारेको छ । उनले टाउको सुम्सुम्याउँदै भने, ‘माइतिघरतर्फ जान लाग्दै गर्दा एक्कासी टाउकोमा पुलिसले लाठी प्रहार गर्यो,’ अनि म त्यहाँ ढलेपछि पनि लगातार हिर्काइरह्यो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रेम राई झापा धरमुर स्थायी घर भएका प्रेम राई पनि प्रहरीको कसटाइबाट घाइते भएका छन् । उनको टाउकामा १२ वटा टाँका लगाइएको छ भने २ वटा इन्जेक्सन समेत दिइएको छ । उनले भने, ‘म एउटा घरमाथिको भ¥याङमा चढेको थिएँ, १०/१२ जनाको ग्रुपमा थियौं एक्कासी प्रहरीले इट्टा प्रहार गरेर मेरो टाउको नै फुटाइदियो ।’ उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रेमकुमारी डौल्पा दमक झापा स्थायी घर भएका प्रेमकुमारी डौल्पा पनि घाइते भएकी छिन् । झापादेखि नै काठमाडौं आएकी डौल्पाको निधारमा टुटिल्को उठेको छ । उनी अगाडिको ब्यानर समातेर आउँदा प्रहरीले एक्कासी हिर्काएको थियो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । रमेश पन्त भक्तपुर घर भएका रमेश पन्त पनि प्रहरीको कसटाईबाट घाइते भएका छन् । उनको टाउकामा प्रहरीले लाठी चार्ज गरेपछि टाउको फुटेको थियो । उनको टाउकामा १० वटा टाँका मारेको छ । उनले आँखाभरि आँसु निकाल्नै भने, ‘तीनकुनेको डिएसपीले प्रचण्ड बाबुरामको दलाल अपराधीलाई ठोक भनेका थिए । हामीले किन नेताको नाम लिएर गाली गरेको भन्दा पछि सिपाहीहरुले हिर्काएका थिए । डिएसपीले अपशब्दहरु बोल्दै हामीलाई गाली पनि गरेका थिए, भने लाठी चार्ज पनि गरेको थिए ।’ भलकाजी तामाङ खोटाङ डुम्रे धारपानी स्थायी घर भएका भलकाजी तामाङ पनि घाइते भएका छन् । उनी पनि प्रहरीको लाठी खाएपछि अस्पताल भर्ना हुन पुगेका थिए । उनी अस्पताल पुगेपनि केही बेर कुर्न परेको उनले गुनासो पोखे । उनको टाउकामा १२ वटा टाँका मारिएको छ । उनी २ दिन अगाडि नै घर जान लागेका थिए, तर आन्दोलनले गर्दा बसेको उनले बताए । उनले भने, ‘हामीले पुलिसलाई सम्झाइरहेका थियौं, तर उनीहरुले सम्झाएको कुरा नमानेपछि हामीलाई सम्झाउने तँ को भन्दै लाठी प्रहार गरेका थिए ।’ हामी रोडभन्दा बाहिर बसेर पुलिसलाई सम्झाएका थियौं । टेकजंग लिम्बु कोटेश्वर घर भएका टेकजंग लिम्बु पनि घाइते भएका छन् । उनी पनि ३० दलीय आन्दोलनको क्रममा नारा लगाउँदै जाने क्रममा प्रहरीको बुट भेटेका थिए । उनलाई करङमा बुटले हिर्काएको थियो । हातमा पनि लाठी चार्ज गरेको उनले बताए ।