प्रचण्डको आन्दोलन असफल हुने मुक्तिनाथ बाबाको दाबी


कुनै समय आफूलाई नास्तिक भन्न रुचाउने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मभिरुको रुपमा बराहक्षेत्रमा गएर भैंसी पुजा गर्न समेत पछि परेनन् । प्रचण्डले समयक्रमसँगै परिवर्तित हुँदै राजनीतिक सफलताको लागि मुक्तिनाथ बाबा अर्थात स्वामी कमलनयनाचार्यकै शरणमा पर्ने र उनकै सल्लाह र सुझावमा चल्दै आएकोमा यो पटक भने छलाङ मारे । सँधै राजनीतिक प्रक्रिया र घटनाक्रममा छलाङ मार्न माहिर प्रचण्डले यस पटक भने बाबाको सल्लाह बिनै अघि बढे ।


स्रोतका अनुसार आन्दोलनको आँधीबेहरी ल्याउन मुक्तिनाथ बाबाको आशिर्वाद र सल्लाह लिनुपर्छ भन्ने सुमार्गीको सुझावलाई प्रचण्डले ठाडै अस्वीकार गरी सडक आन्दोलनमा होमिएका कारण प्रचण्ड असफल हुने स्वयम् मुक्तिनाथ बाबाले नैं दाबी गरेका छन् । अर्कोतर्फ केही दिन अघि कमलनयनाचार्यले जनताको मतले निर्वाचित नेताहरुले जनमतलाई ख्याल नगरेको आरोप लगाएका थिए ।

इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानमा गल्तीवश धर्म निरपेक्ष भन्ने शब्द पारिएको बताउँदै ८५ प्रतिशत हिन्दू भएको ठाउँमा धर्म निरपेक्ष नसुहाउने बताएको यूनाईटेड पोष्ट साप्ताहिकमा समाचार छ । उनले नेताहरुले जनताको मन दुःखाएको ठोकुवा गर्दै आफूहरु निरिह भएको नभइ नेताहरु सच्चिएलान् भनेर पर्खेर मात्र बसेको बताएका थिए । आफूहरुले चाहेमा तीन घण्टामा देश ठप्प पार्न सक्ने चेतावनी दिदै उनले नेताहरु सुध्रन्छन् कि भनेर पर्खेको बताएका थिए ।

मुक्तिनाथ बाबाले नेपाललाई हिन्दू राज्य घोषणा गर्न माग गर्नु र प्रचण्डले धर्म निरपेक्षताको पक्षमा वकालत गरेर उनै बाबाको आशिर्बाद लिएर हरेक कामको शुरुआत गर्नुलाई बिडम्बना मानिदै आएको छ । यसपटक प्रचण्डले धर्म निरपेक्षताको मुद्दालाई लिएर बिबादमा पर्ने भयले सुमार्गीको प्रस्ताव र बाबाको भेट्न चाहने इच्छालाई ठाडै इन्कार गरेको समाचार यूनाईटेड पोष्ट साप्ताहिकले छापेको छ ।




प्रतिक्रिया दिनुहोस्...