गच्छदारको नेतृत्व गर्दै ‘गुण्डा नाइके’ गणेश लामा ३० दलको बैठकमा


सिंहदरबारस्थित एकीकृत नेकपा माओवादीको संसदीय दलको कार्यालयमा भएको बैठकमा सहभागी गणेश लामा। तस्बिर : दिपेश श्रेष्ठसिंहदरबारस्थित एकीकृत नेकपा माओवादीको संसदीय दलको कार्यालयमा भएको बैठकमा सहभागी गणेश लामा। तस्बिर : दिपेश श्रेष्ठ
काठमाडौं- एकीकृत माओवादी नेतृत्वको ३० दलीय गठबन्धनको बैठकमा फोरम लोकतान्त्रिकको प्रतिनिधित्व गर्दै ‘गुण्डा नाइके’ गणेश लामा सहभागी भएका छन्। आगामी आन्दोलनको तयारीका विषमया छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकमा फोरम लोकतान्त्रिकको प्रतिनिधित्व गर्दै लामा र लक्ष्मण थारु सहभागी भएका हुन्।

पार्टी अध्यक्ष विजयकुमार गच्छादार विराटनगरमा रहेको र उपाध्यक्ष रामेश्वरराय यादव पार्टी कामले सर्लाहीमा रहेका कारण बैठकमा आफू उपस्थित भएको लामाले बताए। पार्टी केन्द्रीय सदस्यसमेत रहेका लामाले ३० दलले घोषणा गरेको आन्दोलनमा पार्टीले आफूलाई उपत्यका संयोजक बनाएकाले आन्दोलनको तयारीका विषयमा छलफल गर्न बैठकमा भाग लिन आएको नागरिकन्युजलाई बताए।
30 party alliance meeting-02
‘म पहिला पनि लोकतान्त्रिक सिपाही थिएँ,' लामाले नागरिकन्युजसँग भने, ‘केही मानिसले मलाइ बद्नाम गर्न ‘डन’ भएको प्रचार गरेका हुन्। म पार्टीको केन्द्रीय सदस्य, आन्दोलनमा पार्टीतर्फबाट उपत्यका संयोजक पनि हुँ। त्योभन्दा पनि म लोकतान्त्रिक सिपाही हुँ।' अहिलेको आन्दोलन आदिवासी जनजातिको हक, अधिकार प्राप्तीको लडाईँ भएकाले आन्दोलनमा होमिनु परेको उनको भनाइ थियो। ‘आदिवासी जनजाति र पहिचानको आन्दोलनमा सहभागी हुनु मेरो कर्तव्य हो,' उनले भने, ‘आफैं पनि आदिवासी भएको नाताले आन्दोलनमा जानु मेरो कर्तव्य हो।'
30 party alliance meeting-01
३० दलीय बैठकमा सहभागी हुन सिंहदरबार पुगेका लामाविरुद्ध भने विशेष अदालतमा अपराधिक गतिविधि र जबरजस्ती चन्दा असुली गरेको आरोपमा मुद्दा चलिरहेको छ।
काभ्रेली समूहको नाइकेसमेत रहेका लामा समय-समयमा रक्तचन्दन तथा जबरजस्ती चन्दाअसुली गरेर अवैधानिक सम्पत्ति कमाएको आरोपमा पक्राउ पर्दै पार्टीको संरक्षणमा छुट्दै आएका छन्।
उनी दोस्रो संविधानसभामा काभ्रेको क्षेत्र नं २ बाट फोरम लोकतान्त्रिकका उमेदवार थिए। अकूत सम्पत्ति कमाएको अभियोगमा जेलमा रहेका लामा उम्मेद्‍वारी दिएका भोलिपल्टै धरौटीमा रिहा भएका थिए। विशेष अदालतले माग गरेको ३ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका थिए।






प्रतिक्रिया दिनुहोस्...