कुल पूजामा काम्दा काम्दै निधन


रौतहट, माघ १८ - घरमा दुई दिनदेखि पूजा भइरहेको छ । घरभरि पाहुना र आफन्तहरु छन् । पूजा हेर्न आउनेहरुको घुइँचो छ । आफूलाई कारिख महाराजको भक्त भन्ने व्यक्ति पहिलेदेखि कामिरहेका छन् । काम्दाकाम्दै उनी शान्त भए र पूजाको बाँकी कार्य अगाडि बढिरहेको थियो । पूजा गराउन आएका धामी र भजन गाउनेहरुको समूह आ–आफ्ना काममा व्यस्त छन् । त्यही समयमा पहिले कामेर भर्खर शान्त भएको मानिस फेरि कामेजस्तो गर्छन् र एकैछिनमा शरीर त्याग गर्दछन् । यो कुनै चलचित्रको घटना होइन न त साहित्यको रचना नै । रौतहटको सखुअवा गाविसमा कूल देवताको पूजा गरिरहेका एकजनाको परिवारको यथार्थ घटना हो । सखुअवा गाविसको वार्ड नम्बर ५ का राम विश्वास राय यादवको मृत्यु शनिवार यसै गरी भएको हो । सखुअवा ५ का केही परिवारले आफ्नो कूल देवता कारिख महाराजको सामूहिक रुपमा पूजा थालेका थिए । प्रचलनअनुसार शुक्रबार रातिदेखि पूजाको थालनी भयो र शनिवार विहानको पूजाको कर्म अगाडि बढिरहेको समयमा कुल देवताको भक्त भनेर आफूलाई मान्दै आएका सखुअवा ५ कै ५२ वर्षका राम विश्वास राय यादवले पूजाकै समयमा कामेकोजस्तो गरी देहत्याग गरेको स्थानीयबासिन्दाले बताएका छन् । यादवको देहावसानपछि पूजाको सम्पूर्ण कार्य रोकिएको छ । पूजामा प्रयोग गरिएको सम्पूर्ण सामग्रीलाई बागमती नदीमा सेलाइएको पूजा भइरहेको समूहमा संलग्न स्थानीय हरिनारायण यादवले जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्...