हिटलरकी मृत्यु शिविरबाट उम्कीएकी महिला नेपालमा


काठमाडौ, माघ २२ - प्रधानमन्त्री कोइरालासंग आज बिहान दोश्रो विश्वयुद्धको अवधिमा नाजीहरुको मृत्यु शिविरबाट उम्किएकी इजराइलकीसारा अट्जमनले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेकी छन् ।
भेटको अवसरमा दोस्रो विश्वयुद्ध र यहुदी विरुद्धको हिटलरको विनासकारी आमहत्या अभियान, इजराइलको जन्म, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीकोइरालाको इजराइल भ्रमण र नेपाल–इजराइलको दौत्य सम्बन्ध,विश्व शान्तिको आवश्यकता, नेपालको शान्ति प्रकृया र संविधान निर्माणका विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा प्रधानमन्त्री कोइरालाले दोस्रो विश्वयुद्धको यहुदीहरुलाई सखाप पार्ने अभियानको त्रासद घट्ना इतिहासमा विर्सनै नसकिने कहाली लाग्दो भएको बताए । उनले आउदो पुस्तालाई युद्धले निम्त्याउने मानवीय र भौतिक विनासको बारेमा जानकारी दिन विनासकारी आमहत्या (होलोकाष्ट)को विषय विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताए ।
वार्तामा मृत्यु शिविरबाट उम्केकी साराले युद्धको विभिषिकाबाट समाज, देश र विश्वलाई बचाउन सबैले निरन्तर प्रयास गर्नुपर्ने बताइन् । होलोकाष्ट अर्थात सामूहिक हत्यामा झण्डै ६० लाख यहुदीहरुलाई मृत्यु शिविरमा राखेर हत्या गरिएको थियो । ती मध्ये धेरैको ग्यासच्याम्बरमा हत्या भएको थियो ।
पोल्याण्डमा जन्मिएकी सारा नाजीहरुको मृत्यु शिविरबाट १२ बर्षको उमेरमा उम्किएकी थिइन् । उम्किएको ३ महिनामा इजराइज पुगेकी सारा ३ बर्षपछि इजराइलको स्थापनामा लागी त्यहाँको रक्षा फौजमा भर्ना भएकी थिइन् ।
सारा अहिले इजराइली र जर्मन राजदूतावासद्वारा दोस्रो विश्वयुद्धको यहुदी संहारको दुःखद घटनाको सम्झनामा नेपालमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन् । फ्रान्सेली सांस्कृतिक केन्द्रमा अहिले उनका  पेन्टिङ्गको प्रदर्शनी भैरहेको छ ।





प्रतिक्रिया दिनुहोस्...