सार्वजनिक यातायातमा असुरक्षित महिला


फोटो :फाइल फोटो
काठमाडौं : नयाँ बानेश्वरकी एक महिला कर्मचारीलाई बस चढेर बालुवाटारस्थित आफ्नो कार्यालय पुग्नुपर्छ ।

बिहान ९ देखि अपरान्ह ४ बजेसम्म कार्यालय समय भएको हुँदा बसमा ठेलमठेल भीड भएकाले उहाँले जहिले पनि उभिएर यात्रा गर्नुपर्छ ।

उभिएर यात्रा गर्ने क्रममा उभिएरै यात्रा गर्ने पुरुषले नजानिँदो तरिकाले यौन दुव्र्यवहार गर्ने गरेको उनको भनाइ छ । 'खासगरी बिहान र बेलुकाको कार्यालय जाने र आउने समय भएको हुँदा म चढ्ने गाडीमा ठेलमठेल भिड भएको हुन्छ', उनले भनिन्, 'त्यही मौका छोपेर सँगै यात्रा गर्ने पुरुषले नजानिँदो तरीकाले संवेदनशील अङ्गमा हात लैजाने गर्छन् ।'

त्यसैगरी ललितपुरस्थित गैरसरकारी संस्थामा काम गर्ने एक कर्मचारी भृकुटीमण्डपबाट माइक्रोबसमा कार्यालय जाने आउने गर्नुपर्छ ।

त्यही क्रममा कतिपय पुरुषयात्रीले यौन दुर्व्यबहार गर्ने गरेको अनुभव छ उनीसँग । 'कार्यालय जसरी पनि समयमै पुग्नुपर्ने हुन्छ, यसमा भिड रहेछ, अर्कामा जानुपर्ला भन्यो, अर्को पनि उस्तै भिड गरी आएको हुन्छ', उनले भनिन्, 'त्यही भिडमा पुरुषहरुले जानीजानी यौन दुर्व्यवहार गर्ने गर्छन् ।'

अन्तर्राष्ट्रिय सुरक्षित सहर अभियानअन्तर्गत सार्वजनिकस्थान तथा यातायातमा हुने महिला यौन दुर्व्यवहारविरुद्ध युवाद्वारा सञ्चालित अभियानले सार्वजनिक यातायातमा हुने यौन दुर्व्यवहार बढ्दै गएको जनाएको छ ।

यता डान्स रेस्टुरेन्ट बारजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका २०६५ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा आफूहरुमाथि यौन शोषण भएको त्यस क्षेत्रमा काम गर्ने महिला कामदारले बताउँदै आएका छन् । रासस






प्रतिक्रिया दिनुहोस्...