'प्रधानमन्त्रीले मरोस् भन्दैमा म मर्दिनँ' : डा. केसी
चिकित्साशिक्षा र मेडिकल कलेज सम्बन्धनको स्तरीयतालाई मुख्य माग बनाई विगत सात दिनदेखि अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. गोविन्द केसीले 'प्रधानमन्त्रीले मरोस् भन्दैमा आफू नमर्ने र मर्नै लागे पनि तीन करोड नेपाली जनताले बचाउने' बताएका छन्।
'प्रधानमन्त्रीले मसँग भएका सम्झौता धेरैपटक तोड्नुभयो, त्यस्तो गैरजिम्मेवारीपूर्ण कुरा गर्नुभएको पनि थाहा छ', शनिबार दिनभर विभिन्न राजनीतिक दलका नेताकार्यकर्तासँग भेटेर थकित भएका केसीले भने, 'उहाँ (प्रधानमन्त्री) ले मरोस् भन्दैमा म यति छिट्टै र सजिलै मर्नेछैन, मलाई बचाउन नेपाली जनता आइरहनेछन्।'
केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको र माग जायज रहेकाले पूरा गर्न तत्काल आवश्यक कदम उठाउन आग्रह गर्न पुगेको नागरिक समाजको टोलीलाई बिहीबार प्रधानमन्त्री सुशील कोइरालाले डा. केसीप्रति लक्षित गर्दै 'मरे मरिरहन्छन् नि, म के गरौं त?' भन्ने आक्रोश व्यक्त गरेका थिए।
यसबारे शनिबार अन्नपूर्णमा प्रकाशित समाचारबारे प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्रीको निजी सचिवालयले 'ग भीर ध्यानाकर्षण भएको' उल्लेख गरेको छ। प्रधानमन्त्रीले डा. केसीलाई लक्षित गर्र्दै दिएको आक्रोशपूर्ण अभिव्यक्तिबारे भने निजी सचिवालयले केही उल्लेख गरेको छैन।
सात दिनको अनशनले गलित हुँदै गएका डा. केसीले भने, 'उहाँको त्यस्तो अभिव्यक्तिले मलाई बाँच्ने र नेपाली जनताका लागि लड्ने साहस मिलेको छ।' प्रधानमन्त्रीले धोका दिएकै कारण पाँचौंपटक अनशन बस्न बाध्य भएको उनले बताए।
'उहाँले मेरो अनशन तोडाउन पटकपटक धेरै आश्वासन दिनुभयो, प्रतिबद्धता पनि व्यक्त गर्नुभयो, लिखित सम्झौतासमेत गर्नुभयो, तर ती सबै भुल्दै अर्कैको कुरा सुनेर गलत निर्णय गर्नुभएको छ, जुन सच्चिनुपर्छ', उनले भने।
आफूलाई भेट्न शनिबार अस्पताल पुगेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग केसीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति दु:खेसो पोखेका थिए। पौडेलले भने प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएजस्तो आफूलाई नलागेको बताए। केसीले पौडेललाई तपाईं यहाँ सहानुभूतिका लागि आउनुभएको हो कि समर्थन गर्न भनेर सोधे।
जबाफमा पौडेलले दुवैका लागि आएको बताए।
Source-www.annapurnapost.com

