घुुस खाने हाकिमको पोल खोल्ने हवल्दार प्रहरी खोरमा


फोटो :घूस खाने हाकिमको पोल खोल्दा थुनिएका प्रहरी हवल्दार पन्निलाल साह । फोटो : क्रान्ति शाह
वीरगन्ज : घुस लिएर अवैध सामान छाड्ने हाकिमको पोल खोलेको आरोपमा एक हवल्दार जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनिएका छन् । वीरगन्जको इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार पन्निलाल साहलाई उनकै हाकिमको पोल खोलेको भन्दै हिरासतमा थुनिएको हो ।

प्रहरी उपरीक्षक दिवेश लोहनीको आदेशमा हवल्दार साहलाई शनिवार साँझदेखि थुनामा राखिएको एक प्रहरी अधिकृतले बताए । शुक्रबार राति इनर्वा प्रहरी चौकीबाट प्रहरी हवल्दार साह नेतृत्वको टोलीले वीरगन्जको रजतयन्ती चोकबाट ६० हजार रुपैयाँको भारतीय कपडा बरामद गरेको थियो ।

भारतको रक्सौलबाट हेटौंडाका पोकेतस्कर महिलाहरुले ट्याम्पोमा लोड गरेर ल्याइएका साडी लगायतका कपडा उनीहरुले बरामद गर्न सफल भएका थिए । हवल्दार नेतृत्वको टोलीले बरामद गरेको कपडासहितको ट्याम्पो चौकी इनर्वाका इन्चार्ज सई रमेश रेग्मीले तस्कर महिलालाई नै फिर्ता गरिदिएका थिए ।

त्यही निहुँमा सई रेग्मी र हवल्दार साहबीच ब्यस्त सडकमै भनाभन भएको थियो । दुबैबीच तँ तँ म म हुँदै विवाद चर्केपछि पोके तस्कहरुले झगडा छुटयाएका एक प्रत्यक्षदर्शीले बताए । ‘हामीले झगडा नछुट्याएको भए त्यहाँ ठूलै कुटाकुट हुन्थ्यो’ एक प्रत्यक्षदर्शीले भने ।

तस्कर महिलासँग घुस लिएर सई रेग्मीले उनीहरुको अवै साडीसहितको ट्याम्पो छाडेको हवल्दार साहको आरोप छ । सईसँग झगडा गरेका हवल्दार साहको शनिबार जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी भिस्वामा सरुवा गरिदियो ।
प्रहरी हवल्दार पन्निललाल साह कार्यरत वीरगञ्जस्थित प्रहरी चाौकी इनर्वाको कार्यालय
म आफैं पनि त्यहाँ बस्न चाहन्नथेँ, यस्ता भ्रष्ट हाकिमको अण्डरमा बसेर काम गर्नु भन्दा अन्तै गएको ठिक छ’ शनिवार प्रहरी चौकी इनर्वामा भेटिएका साहले भने, ‘शुक्रबार राति घटना भएलगत्तै त्यही निहुँमा मलाई अन्त सरुवा गरियो ।’

करिब ६० हजारको साडी र गञ्जी, कट्टु टेम्पुबाट आफैँले पक्रेको साहको भनाइ छ । ‘सई सा’बले घुस लिएर हेटौँडाका महिलाको अवैध सामान फिर्ता दिएपछि झगडा भएको हो’, उनले भने ।

शुक्रबार राति बरामद साडी सई रेग्मीले ३० हजार रुपैयाँ घुस लिएर फिर्ता दिएको शनिबार प्रहरी चौकी परिसरमा भेटिएकी जितपुरकी जयमती देवीले बताइन् ।

‘यही नाकाबाट हरेक रात सई साबले स्कर्टिङ गरेर सुपारी भारत पठाउँछन्’ ,शनिबार सर्इ रेग्मीकै सामू हवल्दार साहले अन्नपुर्ण पोस्टसँग भने, ‘शेरु नामको तस्करको तामा पितल लगायतका धातु लोड भएको ट्रक पनि रातमा यही नाकाबाट भारत जान्छ ।बरामद भएका रेग्मीले घरैमा पनि लान्छन् ।’

सई रेग्मीले भने हवल्दार साहले लगाएका आरोप झुटो भएको बताए । उनले शुक्रबार राति ट्याम्पोबाट नवलपरासीको कावासोतीका तीन महिलाले ल्याएको एकएक मात्र साडी बरामद गरिएको दाबी गरे ।

पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले सई रेग्मीमाथि आरोप लगाउने हवल्दार साह नै गलत भएको बताए । प्रउ लोहनीले हवल्दार साहको शुक्रबारै भिस्वामा सरुवा भएकाले सोही निहुँमा लान्छना लगाएको बताए । तर साहको सरुवापत्रमा भने फागुन १६ गतेको मिति उल्लेख छ ।

शनिवार दिउँसो सञ्चारकर्मीसामू सई रेग्मीको पोल खोलेका हवल्दार साह सोही साँझ थुनामा परेका हुन् । आइतवार थुनामा भेटिएका प्रहरी हवल्दार साहले भने, ‘साँचो कुरा बोल्दा थुनामै बस्नु पर्यो ।’  




प्रतिक्रिया दिनुहोस्...