मोर्चाको प्रदर्शन साँझ ५ बजे, आम अड्ताल फिर्ता भएको छैन


काठमाडौं । सत्तापक्षको संविधानसभामा बहुमतीय प्रक्रिया जाने कदमको विरुद्धमा आम अड्ताल गर्न थालेको विपक्षी ३० दलीय मोर्चाले सोमबार मुलुकभर प्रदर्शन गर्न लागेको छ । सहमतीय भन्दा बहुमतीय प्रक्रियामा सत्तापक्षले संविधान निर्माण गर्न लागेको तथा द्वन्द्वकालीन घटनाबारे सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा मोर्चाले सोमबार साँझ ५ बजे मुलुकभर प्रदर्शन गर्न लागेको हो ।
सोमबार साँझ मुलुकभर प्रदर्शन गरिने तथा मंगलबारदेखि गरिने आम हड्ताल हालसम्म फिर्ता नलिएको मोर्चामा आवद्ध मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले मिडिया एनपीलाई जानकारी दिए । गएको माघ ११ गते संविधानसभामा बहुमतीय प्रक्रिया सुरु भएपछि संविधानसभा बैठक बहिस्कार गरी आन्दोलनमा उत्रिएको मोर्चाले सोमबार बस्ने बैठक पनि बहिस्कार गरेका छन् ।
सर्वोच्चले हालै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी ऐनमा रहेको आम माफी सम्बन्धी प्रावधान खारेज गर्नुका साथै नियमित अदालती प्रक्रियामा रहेका द्वन्द्वकालीन मुद्दाहरु सत्य निरुपणमा नलैजाने फैसाल गरेको थियो । ६ माओवादीले सर्वोच्चको फैसला शान्ति सम्झौता र अन्तरिम संविधान विपरीत भएको भन्दै खारेजको माग गरेका छन् । फैसला सच्याउन माग गर्दै ६ माओवादीले हालै प्रधानमन्त्री सुशील कोइरालालाई समेत ज्ञापनपत्र बुझाएका थिए ।
संविधानसभा मार्फत संविधान जारी गर्नुपर्ने भन्दै सशस्त्र आन्दोलन गरेको एकीकृत माओवादी पछिल्लो समय आन्दोलनमा उत्रिएको हो । अवरुद्ध संविधान निर्माण सुचारु गर्नु पर्ने बेलामा माओवादी आन्दोलनले बन्द अड्तालबाट नागरिकलाई सास्ती हुने मात्रै हो की निकास पनि दिने हो यसलाई स्पष्ट पार्न मोर्चालाई निकै चुनौती पूर्ण देखिन्छ ।





प्रतिक्रिया दिनुहोस्...