ककपिटमै कुटाकुट गरे एयर इन्डियाका पाइलट


नयाँ दिल्ली— भारतीय राष्ट्रिय ध्वजाबहाक एयर इन्डियाका पाइलटहरु ककपिटभित्रै कुटाकुट गरेका छन्। जयपुरबाट उड्नुभन्दा केही छिन अगाडि पाइलटहरुबीच ककपिटमा कुटाकुट भएको हो। एयरबस ए–३२०को एआइ ६११ फ्लाइट नम्बरका पाइलटबीच आइतबार साँझ झगडा भएको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। जहाज राजधानी नयाँ दिल्लीका लागि उड्नुभन्दा अगाडि पाइलटले को-पाइलटलाई दुर्व्यवहार गरेपछि विवाद चर्किएको थियो। कुटाकुट भए पनि दुवै पाइलट उडान गर्न भने राजी भएका थिए। झगडापछि पाइलटले ती कोपाइलटसँग सँगै उडान गर्न अस्वीकार गरेका छन्। ती कोपाइलटले यसअघि पनि अर्का पाइलटलाई दुर्व्यवहार गरेको बताइएको छ। एयर इन्डियाले घटनाको पुष्टि गर्दै ककपिटमा कुटाकुट भएको नभइ दुई पाइलटबीच 'विवाद' भएको उल्लेख गरेको छ। 'ककपिटमा कुनै हिंसाजन्य कार्य भएको छैन', एयर इन्डियाका प्रवक्ता जीपी रावले भने। घटनामाथि एयरलान्सले छानविन गर्ने जनाउँदै गल्ती भेटिए कोपाइलटलाई कारवाही गर्ने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्...