'गाँस र बास नभएपछि बचेको सास कसरी धान्ने?'


फोटो : गोरखाको वारपाकमा शनिबार भूकम्पमा परी घाइते भएकाहरूलाई आइतबार उद्धार गरी हेलिकोप्टरबाट ल्याइएपछि गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराउँदै। तस्बिर: प्रेम नेपाली
 घाइतेहरुको बिलौना
पोखराः 'गाउँ फर्कु बस्ने बाँस र खाने गास केही पनि छैन,' पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गराइरहेकी गोरखा खरिवोट भच्चेककी ३८ वर्षीया रणमाया गुरुङले दुःखेसो पोखिन्, ‘कालको मुखवाट फुत्केर बाँचे पनि सास कसरी धान्ने भन्ने चिन्ता लागिरहेको छ।'
 
ज्यानभरि चोटैचोट वोकेका घाइतेहरू यतिखेर घाउको दुःखाइसँगै अवको बाँकी जीवन कसरी बिताउने भन्ने चिन्ताले तडपिरहेका छन्। खाईनखाई बनाएको बास र चर्को घाम पानीमा रुझ्दै उमारेको अन्न क्षणभरमै सखाप वनेपछि उनीहरू विचल्लीमा परेका हुन्। 
 
पाखुरीको भरमा पसिना वगाएर आफू र परिवारको पेट पाल्दै आएका उनीहरू यतिखेर चोटले गर्दा काम गर्न सक्ने अवस्थामा पनि छैनन्। 
'घर त भत्कियो भत्कियो, बारी पनि चिराचिरा परेको छ, पानी पर्‍यो भने त्यो पनि वगाएर लानेछ,' ७ वर्षीया छोरी आशिकासँगै घरभित्र पुरिएकी रणमायाले भनिन्, ‘आफ्नो भन्ने केही नभएकोले जाने ठाउँ पनि छैन।'
 
छानाको प्वालबाट निस्किएकी छोरीले हारगुहार गर्दै एकजना गाउँलेलाई ल्याएपछि उनी र पतिको ज्यान वचेको थियो। 
 
यसैगरी खरीबोटकी ५० वर्षीया आशमाया तामाङले गाउँमा गुहार दिने कोही पनि नभएको बताइन्। देव्रो हात र टाउकोमा गम्भीर चोट लागेकी उनले पिँढीमा वसिरहेको वेला गारोले किचिएर वेहोस वनेकी बताइन्। 
 
बिहानको खाना खाइसकेर काममा गएको बेला भूकम्प गएकोले धेरै मानवीय क्षति हुन नपाएको गाउँलेको भनाइ छ। ‘बारीमा काम गरिरहेको बेला जमिन थर्केर घरका गारा र पर्खाल भत्किए,' आइतबार बिहान हेलिकोप्टरबाट उद्धार गरी पोखरा ल्याइएका ढोलसिंंह गुरुङले भने, ‘भित्रै पुरिएको छोरालाई बल्लबल्ल निकालेर वाहिर ल्याएँ।'
 
अधिकांश घाइतेहरूको टाउको, खुट्टा, ढाडमा चोट लागेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेन्डेन डा. श्रीकृष्णले बताए। ‘घाइतेहरूका आफन्त नभएकाले खुवाउन, दिसापिसाब गराउन र हेरचाह गर्न समस्या भएको छ,' उनले भने ‘थप ४० घाइतेलाई उपचार गर्न सकिने अवस्थामा टिम बनाएर राखिएको छ।'
 
पोखराको क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका करिब ७४ जना घाइतेको व्यवस्थापनमा समस्या भएको छ।
 
क्षेत्रीय अस्पताल विकास समितिका पूर्व अध्यक्ष गंगाराम पोख्रेलले घाइतेहरूको उपचार र व्यवस्थापनमा स्थानीय प्रशासन गम्भीर नबनेको बताए। 
 
‘मणिपालले पैसा नतिरेको भन्दै घाइतेलाई डिस्चार्ज नै गर्न मानेनछ,’ उनले भने, ‘घाइतेहरूको उठिबास भएकोले उपचारपछि कहाँ कसरी राख्ने भन्ने बारेमा पनि राज्यले ध्यान नदिएको पाइयो।'
 
आइतबार दिउँसो भूकम्पको धक्का आएपछि भित्रका बिरामीलाई बाहिर चौरमा ल्याएर उपचार गरिएको थियो। 
 
पटकपटक भूकम्पको धक्का आएपछि पुरिने त्रासले पोखरामा अधिकांश बासिन्दाले आइतबार खुला चौरमा जाग्राम वसेर रात बिताएका थिए। धेरैजसो दोकानहरू बन्द भएकोले व्यापारिक गतिविधि निकै घटेको छ। 






प्रतिक्रिया दिनुहोस्...