पाँचतले घरको भुइँतलामा ३३ घण्टा थुनिएकी महिलाको कथा


काठमाडौ, वैशाख १५ -  
सुनिता सिटौला, तेह्रथुम : हाल बसुन्धरा ।
श्रीमान् र छोरा बाहिरै थिए । पाँचतले घरको भुइँतलामा म भाँडाकुँडा माझ्दैथिएँ । एक्कासी घरै हल्लिन थाल्यो । श्रीमान् र छोरा बाहिर भाग्न भ्याइहाले । म भित्र भएकीले सकिना । के गर्ने र नगर्नेको आपतमा मेरो हंसले ठाउा छाडिसकेको थियो ।
 केही उपाय नलागेर ढोका समाउन खोजें । ढोकै मतिर आयो । माथिबाट किचिहाल्यो । घर ढलिसक्यो भन्ने त भुइँतलाबाटै थाहा हुन्थ्यो । म उत्तानो परिरहें । हलचल गर्न सक्ने कुरै थिएन । भगवान पुकार्न थालें । 
बाहिर कसैले आवाज सुन्छ कि भनी घरिघरि कराइरहें । पहिलो दिन राती आठ बजे कतै प्वाल परेको ठाउँमा टर्चलाइट बालेको देखियो । ‘मलाई बचाइदिनुस्’ भन्दै भित्रबाट गुहार मागें । उताबाट सल्लाह गरेको सुनियो, ‘ए, यो ठाउँको मान्छे जीवितै रहेछ, छाडिदिऊँ । उतातिरबाट प्रयास गरुँ ।’
यस्तो सुन्दा मलाई असाध्यै नराम्रो लाग्यो । लाग्यो, यतिन्जेल जसोतसो बाँचें । अब मेरो जीवन यतिमै सकियो ।
तै पनि जोडले कराएँ, ‘मर्ने त मरेर गईगए । म बाँचेकीलाई बचाइदिनुहोस् । तपार्इंहरुलाई धर्मै हुन्छ ।’
फेरि उताबाट आवाज आयो, ‘कतै सिरकभित्र गुजुल्टिएकी हुनुपर्छ । यहाँबाट सकिँदैन । उताबाट कोसिस गरौं ।’
उनीहरु यत्ति भने र गए । त्यसपछिको २४ घण्टा मेरो जीवनको सबैभन्दा लामो २४ घण्टा हुन पुग्यो । अहिलेसम्म कोही आएर पनि बचाउन सकेन, अब कसैले पनि सक्दैन भन्ने लागेर ज्यानको माया लागिरह्यो । श्रीमान् छोराछोरीको याद आइरह्यो । जसरी भए पनि बाहिर आउन पाए हुन्थ्यो भन्ने लाग्यो । तर कसरी आउने ? हिजो आएकाहरुले अरुलाई भन्दिए पनि हुने नि जस्तो लाग्यो ।
सास रहुन्जेल आस भनेझैं बेला बेला कराउन छाडिनँ । अकस्मात् हिजो आइतबार राति नौ बजेतिर एउटा टोली आएर अघिल्लै दिन आवाज आएको ठाउाबाट मलाई निकाल्न कोसिस गर्‍यो । हिन्दी बोलिरहेका थिए । पछि सोध्दा थाहा भयो, मलाई दोस्रो जुनी दिनेहरु भारतीयसहित अरु उद्धारकर्मी हुनुहुादो रहेछ । निकैबेरपछि सकुशल निकालेर हस्पिटल लैजानुभयो । बाहिर अँध्यारो थियो । कुन हस्पिटल भन्ने पनि मलाई सम्झना छैन । टिचिङ हो कि । फर्कदा रातिको ३ बजेको थियो ।
३३ घण्टासम्म हलचल नगरी, केही नखाई बसे पनि मेरो स्वास्थ्य पूरै ठीक रहेछ भनी डाक्टरले भन्दा आफैं छक्क परें । सायद ढोकाले एकैनास थिचिरहेकाले यस्तो भएको होला । सुन्नेहरु पनि छक्कै परेका छन् ।
अहिले म श्रीमान् र छोरासंगै बसुन्धरा एकेडेमी स्कुलमा बसिरहेकी छु । छेउमा हाम्रोसहित ठूल्ठूला घर ढलिसकेछन् । सबैजना स्कुलमै ओत लाग्न आएका छन् । मलाई यो संसारै नौलोजस्तो लागिरहेको छ । के हो के हो जस्तो । अर्कैं संसारमा आएजस्तो ।





प्रतिक्रिया दिनुहोस्...