ओबामा र वान की–मुनद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं, बैशाख १७ । गत शनिबार आएको महाभुकम्पबाट नेपालले व्यहोर्नु परेको विपत्प्रति चासो राख्दै अमेरिकी राष्ट्रपति वाराक ओवामा, संयुक्त राष्ट्र संघका महासचिव वान की–मून, मालद्वीभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दूल गैयूमलगायतले आ–आफ्नोतर्फबाट सहयोगको प्रतिवद्धता जनाएका छन् ।
उनीहरुले हिजो प्रधानमन्त्री
सुशील कोइरालालाई टेलिफोन गरी विनासकारी भूकम्पमा परी धेरै नागरिकले जीवन गुमाउदा परेको शोकमा प्रधानमन्त्री कोइराला, उनी मार्फत मृतकका परिवारजन र यस घट्नाबाट दुःखित समस्त नेपाली जनतालाई समवेदना प्रकट गरेका छन् ।
वार्तामा राष्ट्रपति ओवामाले नेपालमा परेको यस प्राकृतिक विपद्को घडीमा आफू र अमेरिकी जनता नेपालीहरुको दुःखमा साथै रहेको जनाउदै यस विपद्को समयमा नेपाललाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजकले जनाएका छन् ।
महासचिव मूनले पनि नेपालमा परेको यस प्राकृतिक विपद्को घडीमा आफू समस्त नेपालीहरुको दुःखमा साथै रहेको जनाउदै यस विपद्को समयमा नेपाललाई आवश्यक सहयोग गर्न राष्ट्र संघ तयार रहेको बताएका थिए ।
प्रधानमन्त्री कोइरालाले यस्तो विपत्तिको घडीमा गरेको आर्थिक, भौतिक र मानवीय सहयोगप्रति उनीहरुको प्रशंसा गरेका थिए । राष्ट्र संघले भूकम्प पीडितहरुको तत्कालिन सहयोगको लागि १५ मिलियन अमेरिकी डलर सहयोग घोषणा गरेको छ ।
वार्तामा प्रधानमन्त्री कोइरालाले प्राकृतिक प्रकोप न्यूनिकरणमा राष्ट्र संघका विज्ञहरुको ज्ञान,सीप,अनुभव र दक्षता नेपालको भूकम्प पीडितहरुको उद्वार,राहत,पुनस्थापना र पुनिर्माणमा उपयोगी हुने बताए ।
उनले प्राकृतिक विपत्तिको यस्तो दुःखद् घडीमा अमेरिका जस्तो विकसित मुलुकले हासिल गरेको ज्ञान,सीप,अनुभव र दक्षता उद्वार,राहत,पुनस्थापना र पुनिर्माणमा उपयोगी हुने बताए ।
यसैबीच, प्रधानमन्त्री कोइरालासंग श्रीलंकाका स्वास्थ्य मन्त्री डा.नमबुराका हेलम्बागे रञ्जित हरिश्चन्द्र सेनारत्नले हिजो भेट गरी सहयोगको प्रतिवद्धता जनाए ।
यसैबीच, संयुक्त राष्ट्रसंघले महाभूकम्पबाट पिडीतहरुलाई राहत निम्ति साढे ४१ अर्ब रुपैयाँको खाँचो औल्याएको छ । राष्ट्रसंघले नेपाल सरकारको राहत कार्यक्रममा तीन महिनाका लागि त्यति रकम सहयोग गर्न चाहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले औल्याएका छन् ।
