लुम्बिनी दिवसमा स्थानीयलाई हर्ष न विस्मात
बुटवल : सरकारले आगामी वैशाख २१ गते लुम्बिनी दिवस तथा २५५९औं बुद्ध जयन्ती भव्य रूपमा मनाउने तयारी गरेको छ। तर, यो तयारीले लुम्बिनीवरपरका बासिन्दाको भने ध्यान खिच्न सकेको छैन।
कार्यक्रम आयोजनाका लागि नयाँ वर्षको सुरुवातसँगै सरसफाइ, निमन्त्रणा तथा सत्कार उपसमितिहरू सक्रिय भएको लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले बताए।
कार्यक्रम सम्पन्न गर्न संस्कृतिमन्त्रीको अध्यक्षतामा गठन हुने पाँच सय ५९ सदस्यीय मूल समारोह समितिमा लुम्बिनीवरिपरिका ग्रामीण समुदायको प्रतिनिधित्व नगन्य हुने भएकाले यहाँका बासिन्दाले कार्यक्रमप्रति अपनत्व महसुस गर्न नसकेका हुन्।
भगवान् गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीप्रति आस्था र श्रद्धा भए पनि कार्यक्रमले आकर्षित नगरेको स्थानीय बासिन्दा बताउँछन्।
टाढाटाढाका बौद्ध संस्था र व्यक्तिहरूलाई समितिमा राख्ने तर लुम्बिनीप्रति उत्तिकै आस्था र श्रद्धा राख्ने स्थानीय अन्य धर्मावलम्बी सामाजिक व्यक्तिलाई नसमेटिएकोमा स्थानीय बासिन्दाको गुनासो छ।
कार्यक्रम सम्पन्न गर्न संस्कृतिमन्त्रीको अध्यक्षतामा गठन हुने पाँच सय ५९ सदस्यीय मूल समारोह समितिमा लुम्बिनीवरिपरिका ग्रामीण समुदायको प्रतिनिधित्व नगन्य हुने भएकाले यहाँका बासिन्दाले कार्यक्रमप्रति अपनत्व महसुस गर्न नसकेका हुन्।
स्थानीय बासिन्दालाई औपचारिक कार्यक्रममा सम्मानजनक सक्रिय भूमिका नदिइएको र लुम्बिनीमा ठूल्ठूला पूर्वाधारका योजना बनिरहँदा पनि त्यसवरिपरिको ग्रामीण क्षेत्रमा भने आधारभूत सुविधाका संरचना नबन्नुले पनि उनीहरू असन्तुष्ट बनेका हुन्।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पूर्वाधारसम्बन्धी आधुनिक र भव्य संरचना विकास भए पनि वरिपरिका गाउँमा विद्युत्, सडक, सञ्चार, खानेपानी, शौचालयजस्ता आधारभूत सुविधा नभएको गुनासो स्थानीय बुद्धिजीवी वीरेन्द्र मिश्रको छ।
यहाँका वरपरका गाउँमा पिछडिएको मुस्लिम र तराईंका दलित जातिको बाक्लो बसोबास छ।
स्थानीय राजनीतिककर्मी राधेश्याम गुप्ताले बुद्ध जन्मोत्सव समारोहलगायतका ठूल्ठूला कार्यक्रममा स्थानीयले सम्मानित भूमिका नपाएको एवं लुम्बिनी विकास कोषको कार्यकारिणी समितिमा पनि स्थानीयको प्रतिनिधित्व नगन्य भएको गुनासो गरे।
लुम्बिनी विकास कोषको कार्यकारी समितिमा स्थानीय प्रतिनिधित्व बढाउनुपर्ने माग उनको छ। यसको गुरुयोजनाका लागि स्थानीयले नाममात्रको मुआब्जा लिएर जग्गादान गरे पनि त्यसको उचित मूल्यांकन र सम्मान नभएको गुनासो पनि स्थानीयको छ।
स्थानीय बासिन्दाको सहभागिता नबढाए लुम्बिनीको विकास दिगो नहुने उनीहरूको ठम्याइ छ।लुम्बिनीवरिपरिको ग्रामीण क्षेत्र शैक्षिक, आर्थिक र सामाजिक दृष्टिले निकै पछाडि रहेकाले विकासका लागि सरकारले ध्यान दिनुपर्ने माग स्थानीयको छ।
प्राथमिक स्वास्थ्य उपचार केन्द्रका प्रमुख दीपक ज्ञवालीले यस क्षेत्रमा स्वस्थ पिउने पानी, शौचालयको कमीले झाडापखाला, आउँ, श्वासप्रश्वाससम्बन्धी सरुवा रोगको अत्यधिक समस्या भएको बताए।
खानेपानी, आवास र स्वास्थ्यसम्बन्धी असुविधाका कारण लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा बाहिरबाट आएका विद्यार्थी नबस्ने गरेको स्थानीय अगुवा विन्दुकुमार चौहानले बताए।
तेनुहवा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष अब्दुलरहिम मुसलमानले पर्यटक लुम्बिनी क्षेत्रको गाउँमा जाँदा धुलो, धुवाँ र फोहोरले उनीहरूमा नकारात्मक प्रभाव पार्ने गरेको बताए।
नवगठित लुम्बिनी सांस्कृतिक नगरपालिकाले पूर्वाधारका सुविधा दिएपछि मात्र करको दायरा बढाउनुपर्ने माग उनले गरे। लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले लुम्बिनीको दिगो विकासका लागि स्थानीय समुदायको सहभागिता अनिवार्य भएको बताए।
बजेटको कमीले लुम्बिनी गुरुयोजनाको काम सम्पन्न गर्न नसकेको अवस्थामा ग्रामीण क्षेत्रको विकासमा ध्यान दिन नसकेको उनको भनाइ छ।
साेर्स-अन्नपूर्ण पोस्ट्

