भूकम्पमा टेलिकमको सुविधा : निःशुल्क कि उधारो ?
१७ वैशाख, काठमाडौं । कतै तपाई नेपाल टेलिकमको मोबाइलबाट सित्तैमा फोन गर्न पाएको भन्दै अनावश्यक कुराकानी त गरिरहनुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने केही दिनपछि तपाईलाई मोटो रकमको बिल आउन सक्छ ।
अहिले सित्तैमा गरेको फोनको बिल पछि तिर्नुपर्ने हुन सक्छ । टेलिकमले अहिले दिएको सुविधा निःशुल्क रहेको घोषणा गरिसकेको छैन । त्यसैले पछि मोबाइल रिचार्ज गर्दा पैसा काटिने सम्भावना छ ।
टेलिकमले अहिले सित्तैमा नभई संकटका बेला जिरो ब्यालेन्समा कल सुविधा प्रदान गरेको हो । तर, यो सुविधा निःशुल्क गर्ने-नगर्ने विषयमा कुनै निर्णय नभएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।
‘हामीले सुरुका दुई दिनको एसएमएस निःशुल्क गराएका थियौं’ प्रवक्ता वैद्यले भनिन्- ‘जिरो ब्यालेन्सको कल सुविधा निःशुल्क गराउने/नगराउने विषयमा कुनै निर्णय भएको छैन ।’
जिरो ब्यालेन्स कल सुविधाको पैसा पछि रिचार्ज गर्दा काटिन पनि सक्ने प्रवक्ता वैद्यको भनाइ छ । यसबारे टेलिकमको सञ्चालक समितिको बैठक बसेर निर्णय गर्नेछ ।
‘त्यतिबेला यो सुविधा निःशुल्क गर्न पनि सक्छ, शुल्क लिन पनि सक्छ, अहिले यसै भन्न सकिँदैन’ वैद्यले भनिन् ।
संकटका बेलामा ब्यालेन्स नभएकै कारण मोबाइलबाट कुरा गर्न उपभोक्ता बञ्चित नहोउन् भनेर टेलिकमले जिरो ब्यालेन्समा कल सुविधा उपलब्ध गराएको हो ।
सोर्स-अनलाईन खबर

