शक्तिशाली भुकम्पबाट मृत्यु हुनेको संख्या १८ सय बढी पुग्यो, सयौं घाइते


काठमाडौं, बैशाख १३ । हिजो गएको शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्म काठमाडौं उपत्यका र जिल्लाहरुमा गरी मृत्यु हुनेको संख्या १८ सय ५ पुगेको छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अहिलेसम्म करीब ४७ सय १८ व्यक्ति घाइते भएका छन् । भूकम्पबाट २९ जिल्ला प्रभावित भएकाले मृतक र घाइतेकोसंख्या अझै बढ्ने अनुमान गरिएको सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले जानकारी गराए  ।
११ जिल्लालाई अति प्रभावित र संकटग्रस्त घोषणा गरिएको छ । अर्बौं क्षति भएको छ । संकटग्रस्तमा राजधानीका तीनै जिल्लासहित वाग्मती अञ्चलका सबै जिल्ला र गोर्खा जिल्लालाई घोषणा गरिएको छ । संकटग्रस्त जिल्लामा एक साताका लागि विद्यालयहरु बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।
शुरुमा हिजो विहान ११ः५७ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । मापन गरिएको भूकम्पपनि हिजो दिन र रातभर दर्जनौं पटक भूकम्पको झड्का महशूस गरिएका छन् ।
६, ५ र ४ रेक्टर स्केलका भूकम्पको धक्का महशूस गरिएको हो । आजै विहान पनि करीब ६ रेक्टर स्केलको झड्का महशूस गरिएको छ । भूकम्पबाट काठमाडौं उपत्यकामा मात्र सयौको मृत्यु भएको छ
हिजो दिउँसो र मध्य रातसम्म पनि एकोहोरो भूकम्पको झड्का आइरहेकाले मानिसहरु सबैले खुला आकाशमुनी रात कटाएका छन् । काठमाडौं चक्रपथको दुबै किनारामा रातभर मानिसहरु बसेका थिए भने उपत्यकाका भित्री सडक र खुला स्थानमा बसेर रात कटाएका थिए ।
राति अबेरसम्मको तथ्यांक अनुसार काठमाडौंमा २ सय ७०, भक्तपुरमा १ सय ९० तथा ललितपुरमा १ सय ७ जनाभन्दा बढीको मृत्यु भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा सुन्धारास्थित भीमसेन धरहरा भत्किंदा कम्तिमा ५५ जनाको मृत्यु भएको छ । काठमाडौंको पूर्वी भेगको पुरानो नगर साँखुमा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साँखुमा एक हजार घरमध्ये कम्तिमा ६ सय घरमा क्षति पुगेको छ ।
त्यहाँ थुप्रै मानिस हराईरहेका छन् । राजधानीका अस्पतालहरु मृतक र घाइतेले भरिएका छन् भने उपचारको व्यवस्था मिलाउन निकै कठिनाई भइरहेको छ । मृतक र घाइतेलाई बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताललगायत सरकारी र निजी अस्पतालमा राखिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा उद्धारमा जुटिरहेका छन् । भूकम्पबाट काठमाडौं बसन्तपुरस्थित नौतले दरबार र सिंहदरबारमा पनि क्षति पुगेको छ । कोटेश्वर, शान्तिनगर, बानेश्वर क्षेत्रमा सडकमा धाँजा फाटेको छ भने त्यस क्षेत्रका घरहरुमा ठूलो क्षति पुगेको छ ।
सुन्धारा, गौशाला, नयां बसपार्क, गोंगबु, सामाखुशी लगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । भूकम्पले राजधानीका अधिकांश पुराना संरचनाहरु भत्किएका छन् भने कतै कामै नलाग्ने गरी चर्किएका छन् । भूकम्पको धक्काले असनका अधिकांश घर चर्किएका छन् ।
हिजो बिहान करीब ११ बजेर ५६ मिनेट जाँदा आएको भूकम्प झण्डै ५० सेकेण्डसम्म अडिएको थियो भने त्यसपछि पनि पटक पटक गरी दर्जनौं पटक भूकम्पको झट्का महसुश गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस्...