जाजरकोटका कर्मचारीलाई तत्काल गाउँ फर्कन मुख्यसचिवको निर्देशन, अटेर गरे ‘कारबाही’


जाजरकोट, वैशाख ११ । सरकारका मुख्यसचिव लीलामणि पौडेलले जाजरकोटका कर्मचारीहरुलाई तत्काल गाउँ फर्कन निर्देशन दिएका छन् ।

रोग प्रभावित क्षेत्रहरुमा भइरहेको स्वास्थ्य उपचारको अवस्थाबारे जानकारी लिन विहीबार सदरमुकाम खलंगा पुगेका पौडेलले कर्मचारीहरुलाई गाउँ फर्कन निर्देशन दिएका हुन् ।

मुख्यसचिव पौडेलले जिल्लाका सरोकारवालाहरुसँग महामारीनियन्त्रणको अवस्थाबारे पनि छलफल गरेका छन् । त्यसक्रममा उनले तत्काल कर्मचारीहर गाउँ नफर्के निलम्बन गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतलाई निर्देशन दिए ।

‘यस्तो आपत्को समयमा पनि गाउँ नबस्ने गाविस सचिव, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई तत्काल निलम्बन गरेर त्यसको जानकारी गराउन’ पौडेलले सीडीओ बस्नेतलाई निर्देशन दिएका हुन् ।

निर्देशनलगत्तै लामो समयदेखि सदरमुकाममा बस्दै आएका कर्मचारी भने रातारात गाउँ गएका छन् । गाविसका कर्मचारी, पशुसेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयका कर्माचारीहरु गए राति नै गाउँ फर्केका छन् । 

प्रकोप बढेपछि काजमा बसेका र बिदामा बसेका स्वास्थ्यकर्मीसमेत फर्किएका छन् ।

यस्तै, मुख्यसचिव पौडेलले जिल्ला अस्पताललाई स्तरबृद्धि गरी तत्काल ५० सैयाको बनाउन आफूले विशेष पहल गर्ने पनि बताए ।

यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र प्राध्यापक डा. गोविन्द केसी शुक्रबार जिल्लाको खगेनकोटतिर औषधिसहित अनुगमनका लागि गएका छन् ।

जाजरकोटमा फैलिएको मौसमी रुघाखोकी र ‘स्वाइन फ्लु’ क्रमिकरुपमा नियन्त्रणमा आउन थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मौसमी रुघाखोकी, ज्वरो र ‘स्वाइन फ्लु’बाट अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका छन् भने ६ हजार बढी बिरामी छन् । 





प्रतिक्रिया दिनुहोस्...