विवाहमा छोरीलाई दाइजो होइन, लालपूर्जा
जनार्दन पोखरेल/उज्यालो । महोत्तरी बैशाख १० – वर वधुसँगै मञ्चमा राजनीतिक दलका नेता र पत्रकार बसेका थिए । वरपर परिवार, आफन्त, गाउँले र जन्तीले खचाखच भरिएको थियो । बैवाहिक कार्यक्रम भएपनि जग्गे बनाइएको थिएन । कुनै बाजागाजा बजेको थिएन । कुनै कन्यादान पनि भएन । पुरोहित नभएको कार्यक्रममा उद्घोषकले माइकबाट गरेको घोषणा अनुसार बरबधुले एक अर्कालाई माला लगाइदिए । बेहुलीका आमाबुवाले छोरा सरह छोरीलाई अंशबापत जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) हस्तान्तरण गरे । उपस्थित सबैले ताली बजाए । विवाह सकियो ।
कार्की परिवारले विवाहमा छोरीलाई दाइजो नभएर छोरा सरह अंश दिएका हुन् । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशको प्रमुख आतिथ्यमा भएको बैवाहिक कार्यक्रममा कार्की परिवारले छोरीलाई छोरा सरह १३ कठ्ठा खेत र पाँच धुर घडेरीको लालपूजा दिए ।
भन्नलाई छोराछोरी बराबरी भनेपनि व्यवहारमा अहिले पनि नेपाली समाजमा छोराको तुलनमा छोरीलाई हेला गर्ने चलन हराइसकेको छैन । मधेशमा त यो अझ व्यापक छ । तर कार्की परिवारले आफ्ना दुई भाइ छोरा सरह छोरीलाई पनि बराबरी अंश दिएर समाजमा नयाँ सन्देश दिनुभएको छ ।
अरु नेता र वक्ताहरुले पनि महिला आर्थिक रुपमा सबल नभएसम्म महिला माथिको हिंसा र विभेद कम नहुने भन्दै छोरीलाई पनि छोरा सरह अंश दिएर कार्की परिवारले नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा शुभकामना दिँदै नेपाली कांग्रेसका नेता बजरंग नेपालीले आफ्नी छोरीलाई पनि विवाहमा दाइजो नभएर अंश दिने घोषणा गर्नुभयो ।
