च्यापिएको खुट्टा देखिएको छ, आवाज सुनिएको छ तर उद्दार भएको छैन्


भक्तपुर, वैशाख १४ - पुरानो र साँघुरा बस्ती भित्रका गल्लीहरुमा भुकम्पको धक्काले भत्किएका घरमा पुरिएका कयौं मानिसहरुको सोमबार रातिसम्म उद्दार हुन सकेको छैन ।

भक्तपुर नगरपालिका च्याम्हासिंह, भेलुखेल, ब्यासी, क्वाठन्डौं, जेलां, दत्तात्रय, मख्वा गल्ली, अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोट, किबाचोक, चित्रपुर, लगायत स्थानमा भत्किएका घरले पुरिएका मानिसहरुको उद्धार हुन नसकेको गुनासो स्थानीयबासीले गरेका छन् । ‘क्वाठन्डौं लगायत गल्लीहरुमा घरले पुरिएका मानिसहरुको उद्दार हुन सकेको छैन’, भक्तपुर नगरपालिकाका रविन्द्र प्रधानले भने, ‘खुट्टा मात्र देखिएका मानिस घरले च्यापिइरहेका छन् । च्याम्हासिंहमा भत्किएको घरभित्र मानिसको आवाज सुनिइरहेको छ, उद्दार भएको छैन’,उनले गुनासो गरे । भक्तपुर नगरपालिका जेलां गल्लीमा एकै घरका ३ सहित ५ जना पुरिएको स्थानीय कमला त्वातीले बताइन् । भक्तपुर नगरपालिका गोलमढीमा ४, मख्वा गल्लीमा ३, भेलुखेलमा १, ब्यासीमा १, अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोटमा २, किबाचोकमा १ गरी कम्तीमा १७ जनालाई भत्किएको घरले पुरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी विकास श्रेष्ठले बताए । तर, उद्धारमा खटिएको टोलीले उनीहरुलाई निकाल्न नसकेको श्रेष्ठले स्वीकारे । ‘उद्धार टोली खटिएको छ’,उनले भने,‘पुरानो र सा“घुरो बस्ती भएकाले क्रेनको लान सकेको छैन ।’ पटक–पटकको भुकम्पका धक्काले नगरको भित्री गल्लीहरुमा जान कठिनाई भएको प्रहरीले जनाएको छ । ‘पटक–पटकको भुकम्पले थप घर भत्किने क्रम जारी छ’,उनले भने,‘नगरभित्र जा“दा पुरिने भय छ ।’ उद्दारका लागि ११३ भारतीय विशेष टोली लगायत,७२२ नेपाल प्रहरी, ४५० सशस्त्र प्रहरी, २८६ नेपाली सेना, ६० नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर र चिनिया विशेषज्ञ टोली परिसरले जनाएको छ । उद्दारको क्रममा भक्तपुर नगरपालिका गोलमढीमा २ को सकुशल उद्धार गर्न सफल भएका छन् भने, २ को अझै उद्धार गर्न नसकेको एसपी श्रेष्ठले बताए ।




प्रतिक्रिया दिनुहोस्...